काठमाडौं । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।

खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। कडा प्रतिस्पर्धाका बीच सफलता हासिल गर्दै थापामगरले आफ्नो राजनीतिक यात्रालाई औपचारिक रूपमा अघि बढाएकी छन्।

राजनीतिमा प्रवेश गर्नुअघि नै लोक तथा दोहोरी संगीत क्षेत्रमा स्थापित नाम बनिसकेकी थापामगर दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय छिन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन्।