काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको तेस्रो दिन आज पनि बन्द सत्र जारी छ। सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठको प्रतिवेदन पारित हुन बाँकी छ।

हिजोदेखि सुरु भएको बन्द सत्रमा महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित भइसकेको छ। सोही विधानअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको छ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम राष्ट्रिय सभा गृहमा चलिरहेको छ भने खुलामञ्चमा बन्द सत्र भइरहेको छ। सबैको आकर्षण निर्वाचनतर्फ केन्द्रित भएकाले खुलामञ्चमा चहलपहल कम देखिएको छ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार बन्द सत्र सुरु भएको छ। प्रतिवेदन तीनवटा हलमा आआफ्नो क्लस्टरका प्रतिनिधिबीच प्रस्तुत गरिएको थियो। आजको सत्र सुरुमा छुट्टाछुट्टै हलमा सुरु भए पनि प्रतिनिधिको उपस्थिति कम भएमा सबैलाई एउटै हलमा समेटेर छलफल चलाइने र प्रतिवेदन पारित गरिने योजना छ।

संयोजक आचार्यले सभापति थापा, उपसभापति शर्मा, महामन्त्री घिमिरे र कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदनमाथि पहिले छलफल हुने र त्यसपछि पारित गरिने जानकारी दिए।