काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मतदान तेस्रोपटक सरेको छ। मतदानको तयारी पूरा नभएको भन्दै केन्द्रीय निर्वाचन समितिले समय सारेको हो।
समितिका अनुसार अब मतदान शुक्रबार बिहान ७ बजेदेखि सुरु हुनेछ।
एकै दिन तीनपटक सर्यो समय
सुरुको कार्यतालिकाअनुसार बिहीबार बिहान १० बजेदेखि मतदान हुने भनिएको थियो। तयारीका लागि भन्दै त्यसलाई दिउँसो १ बजेसम्म सारियो। त्यसपछि २ बजेबाट मतदान हुने भन्दै निर्वाचन समितिले दोस्रोपटक समय सारेको थियो।
७ हजार २५५ प्रतिनिधिले मतदान गर्ने
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।
तीन स्थानमा सात मतदान केन्द्र
मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको हो।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्