काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा–बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न ४६ स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएको छ।

लगातारको वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण मालढुंगादेखि बेनी हुँदै कोरलासम्मको सडक तथा पक्की पुलमा समेत क्षति पुगेको आयोजनाले जनाएको छ।

आयोजनाका अनुसार मालढुंगादेखि कोरलासम्मको कुल २०२ किलोमिटर सडकखण्डमध्ये पर्वततर्फ ५ स्थान, म्याग्दीमा १९ स्थान र मुस्ताङमा २२ स्थानमा सडक अवरुद्ध भएको छ।

बाढीपहिरो तथा नदी कटानले सडकको विभिन्न भागमा क्षति पुर्‍याउनुका साथै केही स्थानमा पुलसमेत प्रभावित भएका छन्। सडक अवरोधका कारण उक्त करिडोर हुँदै आवतजावत गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले क्षतिको अवस्था मूल्याङ्कन गर्दै आवश्यक स्थानमा सडक मर्मत तथा पहिरो हटाउने काम अघि बढाउने जनाएको छ।