काठमाडौँ। अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीको सहकार्यमा निर्मित फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ।
टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरब, चेन्चो लामा, केजाङ काज, त्सेकी वाङ्दी, काया ग्येल्त्सेन, नामगे डीजे, जिग्मे कार्लोस, चाब्लोप पासु, उग्येन दोर्जीलगायतका कलाकार देखिएका छन्।
फिल्ममा भारतीय फिल्म मेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमको पनि निर्माण सहकार्य रहेको छ। साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन्।
मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण भएको यो फिल्म नेपाल, भुटान र भारतका कम्पनीहरूको संयुक्त निर्माण हो। फिल्म नेपाली, ‘जोङ्खा’ र भारतीय भाषामा समेत प्रदर्शन हुनेछ।
साढे चार दशकपछि चौधरी परिवार फेरि फिल्ममा
निर्वाणका पिता एवं चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले विसं २०३९ सालमा ‘वासुदेव’ फिल्म बनाएका थिए। त्यसको झन्डै साढे चार दशकपछि उनका छोरा निर्वाणले फिल्म निर्माणमा हात हालेका हुन्।
थाइल्यान्डमा पोस्ट प्रोडक्सन
करिब ६ महिनाअघि छायांकन सकिएको फिल्मको हाल थाइल्यान्डमा पोस्ट प्रोडक्सन भइरहेको छ। डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक र क्रिएटिभ निर्माता प्रदीप खड्का हुन्। फिल्मको छायांकन दीर्घ गुरुङ र साङ्गे टी. तेन्जिङले गरेका छन्।
तीनै देशका प्राविधिक तथा कलाकारहरू संलग्न यो फिल्म अक्टोबर महिनामा रिलिज गर्ने तयारी छ। फिल्म हलसँगै भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा पनि रिलिज गरिनेछ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्