झापा ।।नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन तथा ग्रिनफिल्ड टर्मिनल परियोजना’ को आज संयुक्त रूपमा शिलान्यास गरिएको छ ।
भारतको राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल प्रविधिमार्फत रिमोट थिचेर परियोजनाको शुभारम्भ गरेको छ ।
नेपाल र भारत सरकारबीचको ‘सरकार–सरकार’ (जीटुजी) सम्झौताअन्तर्गत भारत सरकारको शतप्रतिशत अनुदान तथा इन्डियन आयल कर्पोरेसन (आइओसी) को प्राविधिक सहयोगमा यो परियोजना निर्माण हुने परियोजना प्रमुख सुरेन्द्र महतोले बताए।
पाइपलाइन र टर्मिनल निर्माणका लागि करिब रु १२ अर्ब लागत अनुमान गरिएको छ । द्विपक्षीय सम्झौताअनुसार निर्माण सुरु भएको मितिले ५४ महिना (साढे चार वर्ष) भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
उनका अनुसार कूल ४९ दशमलव ६ किलोमिटर लम्बाइ रहने यस पाइपलाइनको भारततर्फ ३५ किलोमिटर र नेपालतर्फ १४ दशमलव छ किलोमिटर खण्ड पर्नेछ । भारतको सिलिगुडीस्थित आईओसीको टर्मिनलबाट सुरु हुने पाइपलाइन मेची पुल नजिकैबाट नेपाल प्रवेश गरी झापाको मेचीनगर नगरपालिकाको वडा नं। ६, १०, ११ हुँदै मेचीनगर–१३, चारआलीस्थित प्रस्तावित टर्मिनलमा पुगेर टुङ्गिनेछ ।
द्विपक्षीय सहमतिअनुसार नेपाल आयल निगमले काँकरभिट्टादेखि चारआलीसम्मको पाइपलाइन मार्ग र भण्डारणस्थलको जग्गा व्यवस्थापन गरेको छ । सरकारले वि।सं। २०७४ मै चारआलीमा २३ बिघा तीन कट्ठा १३ धुर जग्गा व्यवस्थापन गरी फिल्ड कार्यालयसमेत सञ्चालनमा ल्याइसकेको परियोजना प्रमुख महतोले जानकारी दिए।
निगमले पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० र जग्गा व्यवस्थापनको प्रारम्भिक काम सम्पन्न गरिसकेकाले अब आईओसीले पाइपलाइन बिछ्याउने र भण्डारण गृह निर्माणको काम चाँडै थाल्ने जनाइएको छ ।
पाइपलाइन निर्माणमा आठ इञ्च व्यासको कार्बन स्टिल पाइपलाई जमिनमुनि कम्तीमा एक दशमलव दुई मिटर गहिराइमा गाडिनेछ । सुरक्षा र चुहावट नियन्त्रणका लागि अत्याधुनिक ‘स्काडा’ प्रणाली र फाइबर अप्टिक सेन्सिङ प्रविधि जडान गरिने उनले बताए।
चारआलीमा निर्माण हुने अत्याधुनिक ग्रिनफिल्ड टर्मिनलको कुल भण्डारण क्षमता ३२ हजार ८०० किलोलिटर रहने परियोजनाको फिल्ड कार्यालयका प्रशासन प्रमुख मनिष न्यौपानेले बताए। जसमा ३२ हजार २०० किलोलिटर डिजेल र छ हजार ६०० किलोलिटर पेट्रोल भण्डारण गर्न सकिनेछ ।
टर्मिनलमा ‘स्मार्ट भर्टिकल ट्याङ्की’, एकैपटक इन्धन भर्न मिल्ने आठ ‘बे’ सहितको ट्रक लोडिङ सुविधा तथा दुई वटा र्अग्नीनियन्त्रण पानी–फोम ट्याङ्की प्रणाली जडान गरिने उनले जानकारी दिए।
पाइपलाइन बिछ्याउने क्रममा मेची, निन्दा, हडिया र फुलबासाजस्ता नदीहरू पार गर्नुपर्ने भएकाले जलचर र नदीको पारिस्थितिक प्रणालीमा असर पर्न नदिन ‘होरिजन्टल डिरेक्सनल ड्रिलिङ’ (एचडीडी) प्रविधि अपनाइने उनको भनाइ छ । नदीको सतहभन्दा धेरै गहिराइबाट पाइप लगिने हुँदा नदीको प्राकृतिक बहावमा कुनै अवरोध नपुग्ने परियोजनाले जनाएको छ । टर्मिनल सञ्चालनका क्रममा निस्कने वाष्पलाई पुन इन्धनमा रूपान्तरण गरी वायु प्रदूषण र इन्धन नोक्सानी कम गर्न ‘भेपर रिकभरी सिस्टम’ तथा तेल मिसिएको पानी प्रशोधन गर्न ‘आयल वाटर सेपरेटर’ जडान गरिने भएको छ ।
विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँग यस पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सहमति भएको थियो । सोही सहमतिको कार्यान्वयन स्वरूप विसं २०८१ असोजमा नयाँदिल्लीमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थिल कुमारबीच परियोजना निर्माणको औपचारिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्