धादिङ । जेनजी आन्दोलनको मौका छोपी मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक अभियुक्त पुनः चोरीको घटनामा पक्राउ परेका छन् । डाँका चोरी मुद्दाका प्रतिवादी रुद्र मोक्तानसहित तीन जनालाई प्रहरीले धादिङको आदमघाटबाट ५ लाख ८० हजारभन्दा बढी नगदसहित नियन्त्रणमा लिएको हो ।
असार ४ गते दिउँसो करिब १२स्१५ बजे मकवानपुरको कैलाश गाउँपालिका वडा नं। २ वैकुण्ठ बस्ने बुद्धराम मोक्तानको घरबाट ६ लाख रुपैयाँ नगद चोरी भएको थियो । उक्त चोरीमा ३३ वर्षीय रुद्र मोक्तानको समूह संलग्न रहेको सूचना इलाका प्रहरी कार्यालय पालुङबाट प्राप्त भएलगत्तै प्रहरीले व्यापक खोजी सुरु गरेको थियो ।
खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट खटिएको प्रहरी टोलीले असार ५ गते साँझ ५ बजेतिर गजुरी–६, आदमघाट बजारस्थित किरान्चोकबाट आउँदै गरेका दुईवटा मोटरसाइकललाई चेकजाँच गरेको थियो । सो क्रममा मोटरसाइकलमा सवार तीनै जनालाई चोरीको नगदसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा मुख्य अभियुक्त मकवानपुर कैलाश–२ का रुद्र मोक्तान, धादिङ बेनिघाट रोराङ–१ का २१ वर्षीय अशोक तामाङ र सोही स्थानका १९ वर्षीय उमेश तामाङ रहेका छन् । प्रहरीले रुद्र मोक्तानको साथबाट ५ लाख ८० हजार ५४० रुपैयाँ नगद बरामद गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मुख्य अभियुक्त रुद्र मोक्तानको आपराधिक अभिलेख निकै लामो र गम्भीर पाइएको छ । उनी डाँका चोरी मुद्दामै भीमफेदी कारागार मकवानपुरमा कैद भुक्तान गरिरहेका थिए । तर, जेनजी आन्दोलनको समयमा कारागारभित्र भएको उथलपुथलको फाइदा उठाउँदै उनी जेलबाट भागेर फरार भएका थिए ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्