पश्चिम।। एसियामा जारी तनावका बीच करिब आठ लाख ६० हजार विस्थापित व्यक्ति आफ्नो मूल क्षेत्रमा फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले जनाएको छ । यद्यपि, दक्षिणी लेबनानमा पछिल्ला इजरायली हवाई आक्रमणले पुनः विस्थापनको जोखिम बढाएको तथा मानवीय सङ्कट कायमै रहेको कार्यालयले जनाएको छ ।

युएनएचसीआरका अनुसार, द्वन्द्वको चरम समयमा लेबनानभित्र १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । अहिले फर्किएकामध्ये करिब २२ हजार व्यक्ति सामूहिक आश्रयस्थलमा बसिरहेका छन् भने करिब ३६ हजार अझै आफन्तको घर वा भाडाको आवासमा विस्थापित अवस्थामा छन् ।

युएनएचसीआरले सामाजिक सञ्जाल ‘एक्स’ मा युद्धविराम घोषणा भए पनि सप्ताहन्तमा दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणपछि सयौँ परिवार सुरक्षाको खोजीमा उत्तरतर्फ गएको जनाएको छ । नयाँ विस्थापनले लामो समयदेखि जारी विस्थापन सङ्कट थप जटिल बनाएको र घर फर्किएका समुदायमा अनिश्चितता बढाएको कार्यालयले उल्लेख गरेको छ ।

असुरक्षा, आफ्नो समुदायसम्मको पहुँचमा कठिनाइ तथा घर र पूर्वाधारमा भएको व्यापक क्षतिका कारण धेरै परिवार अझै घर फर्कन असमर्थ छन् । द्वन्द्वका कारण स्वास्थ्य, खानेपानी र विद्युत् सेवासमेत प्रभावित भएका छन् ।

युएनएचसीआरका अनुसार, सुरक्षित र स्थायी रूपमा घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने निर्णय गर्नुअघि कतिपय मानिसहरू विस्थापित क्षेत्र र आफ्नो मूल स्थानबीच पटक–पटक आवतजावत गरिरहेका छन् ।

दक्षिणी लेबनान र बेका क्षेत्रका केही भागमा हवाई आक्रमण, आवागमन प्रतिबन्ध, सैन्य गतिविधि तथा युद्धका विस्फोटक अवशेषका कारण सुरक्षा जोखिम कायमै रहेको युएनएचसीआरले जनाएको छ । द्वन्द्वको तीव्रता घटे पनि यी जोखिमले प्रभावित समुदायको सुरक्षित पुनरागमन र दीर्घकालीन पुनःस्थापनामा अवरोध सिर्जना गरेको छ ।

मानवीय सहयोगमा सङ्लग्न संस्थाहरूले समेत स्रोतसाधनको अभाव झेलिरहेका कारण विस्थापित तथा घर फर्किएका परिवारलाई आवश्यक सहायता पु¥याउने क्षमता सीमित भएको कार्यालयले जनाएको छ ।

युएनएचसीआरले विस्थापित परिवार, घर फर्किएका व्यक्ति तथा प्रभावित समुदायलाई आवास पुनर्निर्माण, जीविकोपार्जन पुनःस्थापना, आधारभूत पूर्वाधार निर्माण तथा दीर्घकालीन स्थायित्वका लागि निरन्तर अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको छ ।रासस