इलाम– लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) आयोजना हुँदैछ ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित धार्मिकस्थल गजुरमुखी धाम परिसरमा एकदिने महोत्सव हुन लागेको हो ।

महोत्सवमा आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) सहित धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै लिम्बू समुदायका मौलिक सांस्कृतिक पोसाकको प्रदर्शनीसमेत गरिनेछ ।

किरात याक्थुङ चुम्लुङ माङसेबुङका अध्यक्ष मनरस लिम्बूका अनुसार महोत्सवमा ५०० बढी च्याब्रुङ एकसाथ प्रदर्शन गरिनेछ । उनले केःलाङ केवल नाच वा बाजा मात्र नभई लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको बताए ।

“युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो,” अध्यक्ष लिम्बूले भने, “त्यसैले समुदायको कला, संस्कृति र परम्परालाई जगेर्ना गर्न महोत्सव आयोजना गरेका हौँ ।”

उनका अनुसार महोत्सवमा तागा (पुरुषले लगाउने सांस्कृतिक पोशाक) र मेख्ली (महिलाले लगाउने सांस्कृतिक पोशाक) को विशेष प्रदर्शनीसमेत हुनेछ ।

महोत्सवमा इलामका १० स्थानीय तहसहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहने जनाइएको छ । नयाँ र पुराना पुस्ताबीच सांस्कृतिक सम्बन्ध सुदृढ गर्दै पुर्ख्यौली कला र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सचिव असिम योङहाङले बताए ।

महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले सात लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले स्थानीय जातजातिको कला, संस्कृति र पहिचान संरक्षण गाउँपालिकाको प्राथमिकतामा रहेको बताए ।

च्याब्रुङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको संस्कृतिविद् मोहनसिंह थेवे बताउँछन् । उनका अनुसार च्याब्रुङ नाचमा विभिन्न जनावर तथा पशुपक्षीको अभिनयसमेत प्रस्तुत गरिन्छ भने परिवेशअनुसार च्याब्रुङको तालसमेत फरक–फरक हुने गर्दछ ।

लिम्बू समुदायले शताब्दीयौँदेखि अभ्यास गर्दै आएको च्याब्रुङ नाचलाई व्यवस्थित र संरक्षण गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा तथा संस्कृतिको क्षेत्रमा सक्रिय विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका छन् । यद्यपि, राज्यले यसको संरक्षण र प्रवर्द्धनमा अपेक्षित चासो तथा लगानी नगरेको उनीहरूको गुनासो छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार ३७९ रहेको छ । तीमध्ये इलाम जिल्लामा मात्र ४५ हजार सात लिम्बू समुदायको बसोबास रहेको तथ्याङ्कमा उल्लेख छ ।