इयाङ (चीन), असार २८ : कुनै समय चीनकै सबैभन्दा गरिब र भौगोलिक रूपमा पिछडिएको प्रान्तमध्ये एक मानिएको कुइचोउ अहिले डिजिटल अर्थतन्त्र, पूर्वाधार विकास, गरिबी निवारण र हरित विकासको सफल नमुनाका रूपमा विश्वको ध्यान तान्न सफल भएको छ।

पहाडी भूगोललाई चुनौती नभई अवसरका रूपमा उपयोग गर्दै कुइचोउले ९ हजार किलोमिटरभन्दा बढी एक्सप्रेसवे, विश्वका धेरै अग्ला पुल, उच्च-गतिको रेल सञ्जाल, १३ वटा विमानस्थल तथा आधुनिक यातायात प्रणाली निर्माण गरेको छ। यसले व्यापार, पर्यटन, उद्योग र लगानीलाई उल्लेखनीय रूपमा विस्तार गरेको छ।

डिजिटल अर्थतन्त्रलाई प्राथमिकतामा राखेको कुइचोउ अहिले चीनको प्रमुख ‘बिग डाटा हब’ का रूपमा परिचित छ। हुवावे, एप्पल, टेन्सेन्ट लगायतका अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूले यहाँ डेटा सेन्टर स्थापना गरेका छन्। कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ र डिजिटल प्रविधिको विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको छ।

कुइचोउले लक्षित कार्यक्रममार्फत लाखौँ नागरिकलाई गरिबीबाट माथि उठाएको दाबी गरिएको छ। दुर्गम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा पुनर्स्थापना, सडक विस्तार, शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय उद्योग प्रवर्द्धनले जीवनस्तरमा उल्लेखनीय सुधार आएको बताइएको छ।

हरित विकासलाई प्राथमिकता दिँदै नदीहरूको पानीको गुणस्तर संरक्षण, वायु प्रदूषण नियन्त्रण तथा सहरभित्र हरियाली विस्तारमा पनि उल्लेखनीय सफलता हासिल भएको छ। विविध जातीय संस्कृति, प्राकृतिक सम्पदा र आधुनिक विकासलाई सँगसँगै अघि बढाएर कुइचोउले पर्यटन क्षेत्रमा समेत नयाँ पहिचान बनाएको छ।

कुइयाङमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूले जनमुखी विकास, नवप्रवर्तन, खुलापन र अन्तर्राष्ट्रिय सहकार्यलाई आगामी विकास रणनीतिको मुख्य आधार बनाइने बताएका छन्। उनीहरूले चीनको विकास अनुभव विश्वसँग साझा गर्दै सुशासन, प्रविधि, लगानी, सञ्चार र सांस्कृतिक आदानप्रदानमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।