मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्व सम्पन्न भएको ७०औँ दिनमा मनाइने यो पर्व इस्लाम धर्ममा विशेष महत्त्व राख्ने पर्वका रूपमा परिचित छ ।
पर्वका अवसरमा मुस्लिम समुदायका मानिसहरूले बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकापसमा अँगालो हाल्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद तथा इदगाह क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो । पर्वको अवसरमा विशेष धार्मिक प्रवचन, दुआ तथा सामूहिक भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको छ ।
मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार हिजरी संवत्अनुसार करिब १४३९ वर्षअघि अल्लाहको आदेशअनुसार हजरत इब्राहिमले आफ्ना प्रिय छोरा इस्माइललाई बलिदान गर्न तयार भएको घटनाको सम्झनामा बकर इद मनाउने परम्परा सुरु भएको हो । धार्मिक विश्वासअनुसार इब्राहिमको त्याग र समर्पणबाट प्रसन्न भएका अल्लाहले अन्तिम समयमा इस्माइलको सट्टा स्वर्गबाट आएको दुम्बाको कुर्बानी गराएका थिए ।
मुस्लिम धर्मगुरु मौलाना रहमत अलीका अनुसार बकर इदले त्याग, समर्पण, आस्था र मानवसेवाको सन्देश दिने गर्दछ । उनले पैगम्बर मोहम्मद सलल्लाहु अलैहि वसल्लमले यस पर्वलाई थप व्यवस्थित र धार्मिक रूप प्रदान गरेको उल्लेख गरे ।
उनका अनुसार इस्लाम धर्मको इतिहाससँग जोडिएका साउदी अरबका मक्का र मदिना मुस्लिम धर्मावलम्बीका पवित्र तीर्थस्थल हुन् । बकर इदको अवसरमा ती स्थानमा विश्वभरबाट लाखौँ मुस्लिम श्रद्धालु हज यात्राका लागि पुग्ने गर्दछन् । नेपालबाट पनि हरेक वर्ष मुस्लिम समुदायका व्यक्तिहरू हज यात्रामा जाने गरेका छन् ।
बकर इदको मुख्य विशेषता ‘कुर्बानी’ हो । धार्मिक मान्यताअनुसार अल्लाहलाई खुसी पार्न जायज मानिएका जनावरको बलि दिने परम्परा रहेको छ । कुर्बानी गरिएको मासुलाई तीन भागमा बाँड्ने चलन छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त र इष्टमित्रलाई तथा तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने गरिन्छ ।
मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउने परम्परा रहेको जनाएको छ । यी तीनै दिन कुर्बानी दिन सकिने धार्मिक व्यवस्था रहेको नेपाली जामे मस्जिदले जनाएको छ ।
यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । देशभर शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सुरक्षा व्यवस्थासमेत कडा पारिएको जनाइएको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्