चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किए, ११ जना घाइते
चितवन। चितवनको कुरिनटारस्थित पृथ्वी राजमार्गमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान करिब पौने ९ बजे इच्छाकामना गाउँपालिका–४ धारापानी क्षेत्रमा बस, ट्रक र माइक्रोबस एकै ठाउँमा ठोक्किएर दुर्घटना भएको हो।
सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बस, काठमाडौंको दिशाबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ६६ जनाको टोली घटनास्थलमा खटिएको छ। सुरक्षाकर्मीले उद्धार तथा घाइतेलाई उपचारका लागि अस्पताल पुर्याउने कार्य गरेका छन्।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको ट्रमा सेन्टरमा लगिएको छ। घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।
तीनवटा सवारीसाधन एकै ठाउँमा ठोक्किएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। दुर्घटनापछि सडक खुलाउने प्रयास तथा घटनाको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।
दुर्घटना कसरी भयो र त्यसमा कति क्षति पुग्यो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्