काठमाडौं। नजिकिँदै गरेको दसैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै यातायात व्यवस्था विभागले यात्रुहरूको सहजताका लागि आफ्नो आधिकारिक वेबसाइटमा डिजिटल रूपमा भाडा दर हेर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ।
पिडिएफको झन्झटबाट मुक्ति
यसअघि विभागको वेबसाइटमा भाडा दर पिडिएफ फाइलमा लामो सूचीका रूपमा मात्र राखिने गरिएको थियो। आफ्नो गन्तव्यको भाडा पत्ता लगाउन यात्रुले पूरै फाइल डाउनलोड गरेर खोज्नुपर्ने बाध्यता थियो। अब भने सेवाग्राहीले वेबसाइटमै सहजै सर्च गरेर आफ्नो गन्तव्यको भाडा तुरुन्तै हेर्न सक्ने भएका छन्।
चाडपर्वमा किन उपयोगी?
चाडपर्वका बेला घर जाने यात्रुको संख्या ह्वात्तै बढ्ने भएकाले भाडा दरबारे जानकारी अभावमा यात्रु मर्कामा पर्ने गरेका गुनासा आउने गर्छन्। यात्रा सुरु गर्नुअघि नै तोकिएको भाडा अनलाइनमा हेर्न पाउँदा यात्रुले सही भाडा थाहा पाउने र बढी असुली भएमा पहिचान गर्न सजिलो हुने अपेक्षा गरिएको छ।
कसरी हेर्ने?
यात्रुले यातायात व्यवस्था विभागको आधिकारिक वेबसाइटमा गएर ‘भाडा दर खोजी’ सुविधामार्फत आफ्नो यात्राको गन्तव्य खोजेर तोकिएको भाडा हेर्न सक्नेछन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्