गुलरिया (बर्दिया), असोज १८ गते। बर्दियाका करदाताले अब सम्बन्धित पालिकाबाटै करसम्बन्धी सेवा पाउने भएका छन्। आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र जिल्लाका नगरपालिका तथा गाउँपालिकाबीच सेवा प्रवाहसम्बन्धी सम्झौता भएसँगै स्थानीय तहबाट करदाता सेवा सुरु हुन लागेको हो।
हाल गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट सेवा सुरु गर्ने तयारी गरिएको छ। कार्यालय र तीनै पालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। पालिकाको नाममा लगइन आइडी निर्माणको काम भइरहेकाले आगामी मंगलबारसम्म सेवा सुरु हुने आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले बताए।
उनका अनुसार बर्दियाका आठवटै पालिकाबाट करदाता सेवा दिने योजना छ। सम्भव भएसम्म दसैँअघि र नभए दसैँलगत्तै सबै पालिकाबाट सेवा सुरु गरिनेछ।
पालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) दर्ता, अन्तःशुल्क इजाजतपत्र लिने र नवीकरण गर्ने, करदाताको विवरण संशोधन गर्ने तथा कर चुक्ता प्रमाणपत्र लिनेलगायत सेवा प्राप्त गर्न सकिनेछ। भ्याटमा कारोबार गर्ने ठूला कारोबारीको विवरण पालिकाले संकलन गरी आन्तरिक राजस्व कार्यालयमा पठाउनेछ। कार्यालयले अध्ययन गरी आवश्यक स्वीकृति दिनेछ।
सरकारले २०८२ कात्तिक १७ गते करदाता सेवा कार्यालयबाट उपलब्ध हुने सेवा स्थानीय तहबाटै उपलब्ध गराउने निर्णय गरेको थियो। यसअघि बर्दियाका करदाताले करसम्बन्धी सेवा लिन आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज वा करदाता सेवा कार्यालय गुलरिया पुग्नुपर्ने अवस्था थियो। अब सामान्य कामका लागि ती ठाउँमा पुग्नुपर्ने बाध्यता हट्ने प्रमुख न्यौपानेले बताए।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले पालिकाबाटै सेवा सुरु भएपछि नगरभित्रका करदातालाई सहज हुने बताए। कर बुझाउन लामो यात्रा गरेर लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता हट्ने उनको भनाइ छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्