काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि काठमाडौंमा सुरु भएको छ। महाधिवेशनमा भाग लिन देशभरका नेता तथा कार्यकर्ता राजधानी आइपुगेका छन्।

पार्टी कार्यालयका अनुसार यसपटक करिब ७ हजार ६ सय प्रतिनिधि सहभागी हुँदैछन्, जुन कांग्रेसको महाधिवेशनमा अहिलेसम्मकै ठूलो सहभागिता हो। १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि मात्र थिए। प्रतिनिधिहरूले आगामी पाँच वर्षका लागि पार्टीको नीति र नेतृत्व चयन गर्नेछन्।

खुलामञ्चमा फर्कियो राजनीतिक कार्यक्रम

महाधिवेशन खुलामञ्चमा हुँदैछ। वैशाख २०७८ देखि बन्द रहेको यो स्थल कांग्रेसको महाधिवेशनसँगै राजनीतिक कार्यक्रमका लागि फेरि खुलेको हो। २०४६ र २०६२/६३ का जनआन्दोलनपछिका ठूला सभा यहीँ भएका थिए।

खुलामञ्चमा तीनवटा हल बनाइएको छ, जहाँ विधान, राजनीतिक प्रतिवेदन र अन्य दस्ताबेजमाथि छलफल हुनेछ। प्रतिनिधिका गतिविधि र कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले क्यूआर कोड प्रणाली प्रयोग गर्ने भएको छ।

नेतृत्वमा गगन थापा

गत पुस अन्तिम साताको विशेष महाधिवेशनले शेरबहादुर देउवालाई हटाएर गगन थापालाई सभापति चयन गरेको थियो। यस महाधिवेशनबाट पनि थापा नै सभापति बन्ने तयारीमा छन्।

प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापाले आगामी पाँच वर्षको राजनीति, अर्थनीति, उत्पादन, रोजगारी र विदेश नीति समेटिएको राजनीतिक दस्ताबेज प्रस्तुत गर्नेछन्। उपसभापति विश्वप्रकाश शर्माले पार्टीको संरचनात्मक सुधारसम्बन्धी छुट्टै प्रतिवेदन पेस गर्नेछन्।

चालिसेले विधान संशोधनमार्फत देशभर नयाँ पुस्तालाई पार्टीमा जोड्ने वैधानिक बाटो खुल्ने बताए। जनताको अपेक्षाअनुसारको कांग्रेस बनाउनु अहिलेको मुख्य चुनौती र दायित्व भएको उनको भनाइ छ।