काठमाडौं– भोटेकोशी बाढीपहिरोमा परी ज्यान गुमाउनेमध्ये हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने ४ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सोमबार बिहान ११ बजेसम्म बाढीपहिरो प्रभावित विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ३६३ जना, नवलपरासी पूर्वमा २२२ जना, नवलपरासी पश्चिममा २२१ जना, नुवाकोटमा १९७ जना र रसुवामा १६९ जनाको शव फेला परेको छ। यस्तै, गोरखामा ७५ जना, धादिङमा ७० जना र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका कतिपय शवमा मानव अङ्ग मात्र समेत समावेश रहेको प्राधिकरणले जनाएको छ।

फेला परेका शवमध्ये हालसम्म ९८ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ। बाँकी शवको पहिचान तथा सनाखत गर्ने प्रक्रिया जारी रहेको छ। बाढीपहिरोका कारण सम्पर्कविहीन हुनेमा जिल्ला प्रशासन कार्यालय रसुवाको विवरणअनुसार १ हजार ९ सय ६७ जना र नुवाकोटको विवरणअनुसार २ हजार ३ सय ४० जना नेपाली नागरिक रहेका छन्। यसबाहेक करिब १ सय जना सुरक्षाकर्मी तथा कर्मचारी र ५०९ जना विदेशी नागरिक समेत अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तर सम्पर्कविहीनको सूचीमा पहिचान नभएका शव तथा यसअघि नै उद्धार भइसकेका व्यक्तिहरू समेत परेको हुनसक्ने भएकाले विवरण रुजु गर्ने काम तीव्र रूपमा भइरहेको प्राधिकरणको भनाइ छ।

विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९६ जनाको सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई आश्रय दिन स्थापना गरिएका ३१ वटा होल्डिङ सेन्टरमा हाल ३ हजार ५ सय ३३ जना आश्रित छन्। तीमध्ये नुवाकोटमा २ हजार ६ सय ५१, रसुवामा ६६९ र धादिङमा २१३ जना रहेका छन्। बाढीपहिरोमा परी घाइते भएका ६ हजार ६ सय ७२ जनाको उपचार गरिएको छ। नेपाली सेनाले ३ हजार ३ सय ७९ जना र सशस्त्र प्रहरी बलले २ हजार ९ सय ७० जनाको उपचार गरेको प्राधिकरणले जनाएको छ।

विभिन्न अस्पतालमा उपचार गराएका ३२३ जनामध्ये हालसम्म २२८ जना निको भएर डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा इन्धनको आपूर्ति सहज बनाउन ५८ हजार लिटर डिजेल, २५ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ। त्यस्तै, ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा प्रभावित क्षेत्रमा पठाइएको छ। पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भइसकेको प्राधिकरणले जनाएको छ। सञ्चार सेवातर्फ नेपाल टेलिकमका १२० मध्ये ११७ वटा टावर र एनसेलका ७८ मध्ये ७६ वटा टावर सञ्चालनमा आइसकेका छन्। बाढीपहिरोबाट विस्थापित तथा प्रभावित नागरिकको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० जना मनोसामाजिक परामर्शदाता समेत प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।