काठमाडौं: रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको अकल्पनीय तथा विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार नेपालभर राष्ट्रिय शोक मनाइएको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सोमबार नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ।
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १३ सयभन्दा बढीको मृत्यु भएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३० जना पुरुष, ३२८ जना महिला रहेका छन् भने ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ।
भोटेकोशी बाढीले ठूलो मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना, घर तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ। सरकारले उद्धार, खोज तथा राहत वितरणलाई निरन्तरता दिँदै प्रभावित नागरिकको पुनःस्थापना र व्यवस्थापनमा समेत जोड दिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्