काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले विदुर–५ र बेलकोटगढी–८ जोड्ने पक्की पुल बगाएपछि गल्छी–बेत्रावती सडकखण्ड प्रभावित बनेको छ।
पुल बगेसँगै यातायात आवागमन प्रभावित भएपछि नेपाली सेनाको इन्जिनियरिङ टोलीले ६० मिटर लामो एक्रोब्रिज निर्माण तथा जडानको काम अघि बढाएको छ। ५५ जनाको टोली निर्माणस्थलमा खटिएर काम गरिरहेको अवस्थामा सामाजिक सञ्जालमा भने पुल निर्माण सम्पन्न भइसकेको र पुलमाथि गाडी गुडिरहेको देखाउने एआई निर्मित तस्बिर फैलिएको छ।
वास्तविकतामा भने पुल निर्माणाधीन अवस्थामै रहेको र सेनाले स्टिलका संरचना जडान गर्ने काम अघि बढाइरहेको बताइएको छ। पुल निर्माणस्थलमा बाढीका कारण दुवैतर्फका संरचनामा समेत क्षति पुगेको छ।
पुल निर्माण सम्पन्न हुन अझै केही दिन लाग्ने स्थानीय तथा पत्रकारहरूले बताएका छन्। नेपाली सेनाले समेत एक्रोब्रिज निर्माणको काम पूरा हुन बाँकी रहेको स्पष्ट पारेपछि पुल तयार भइसकेको भन्दै गरिएको प्रचारप्रति प्रश्न उठेको छ।
विपद्को समयमा ‘फेक फोटो’को प्रचार
विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापनाको वास्तविक काम भइरहेका बेला सामाजिक सञ्जालमा एआईबाट बनाइएको नक्कली सामग्री फैलिनुले थप भ्रम सिर्जना गरेको भन्दै आलोचना भएको छ।
पुल निर्माणकै क्रममा रहेको अवस्थामा गाडी गुडिरहेको देखाउने तस्बिर सामाजिक सञ्जालमा फैलिएपछि त्यसको वास्तविकतामाथि प्रश्न उठेको थियो। तथ्य जाँचका क्रममा तस्बिर नक्कली रहेको पुष्टि भएपछि कतिपयले आफ्ना पोस्ट हटाएका छन्।
यस घटनाले सामाजिक सञ्जालमा ‘सेना कार्यस्थलमा पसिना बगाइरहेको छ, तर राजनीतिक प्रचारका लागि एआईमा पुल बनाइएको छ’ भन्ने आलोचनालाई समेत बल दिएको छ।
विपद्को संवेदनशील समयमा वास्तविक अवस्थाभन्दा फरक दृश्य प्रस्तुत गर्दा प्रभावित नागरिकमा झनै भ्रम सिर्जना हुन सक्ने सरोकारवालाहरूको भनाइ छ। विशेषगरी जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिहरूले कुनै सामग्री सेयर गर्नुअघि त्यसको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता यस घटनाले देखाएको छ।
कानुनी प्रश्नसमेत उठ्यो
सामाजिक सञ्जालमा गलत वा भ्रामक सामग्री फैलाउने विषयमा नेपालमा विद्युतीय कारोबार ऐनलगायतका कानुनी व्यवस्था छन्। तर, कुनै निश्चित पोस्ट वा व्यक्तिमाथि कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने विषय भने सम्बन्धित निकायको अनुसन्धान र प्रमाणमा निर्भर हुन्छ।
एआई प्रविधिबाट सिर्जना गरिएका सामग्री वास्तविक तस्बिरजस्तै देखिन थालेसँगै त्यसको दुरुपयोग रोक्नु थप चुनौतीपूर्ण बनेको छ। विपद्का बेला झुटा सूचना तथा नक्कली दृश्य फैलिँदा नागरिकको विश्वासमा असर पर्न सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत सचेत हुनुपर्ने देखिन्छ।
भोटेकोशीमा भने अहिले पनि वास्तविक पुल निर्माणको काम जारी छ। एआईको तस्बिरमा पुल तयार भए पनि वास्तविकतामा नेपाली सेनाको टोलीले अझै पुल जोड्न मेहनत गरिरहेको छ।




(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्