पोखरा। ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १३ देखि २३ गतेसम्म चल्ने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला–संस्कृतिको संरक्षण र आर्थिक गतिविधि बढाउने लक्ष्य लिएको छ। एसोसिएसनका अध्यक्ष तथा महोत्सव संयोजक सुरेश लामिछानेले कार्यक्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्न तयारी भइरहेको बताए।
बेगनास फिस फेस्टिभल प्रवर्द्धन उपसमितिका संयोजक दामोदर भक्त थापाका अनुसार महोत्सव यस क्षेत्रका पर्यटकीय स्थलसँगै माछा, मह, कफी र जडीबुटीजस्ता स्थानीय उत्पादनको प्रवर्द्धनका लागि आयोजना गरिएको हो। महोत्सवमा आउने पर्यटकले तालमा मोटरबोट सयर गर्न, बेगनास तालबराही मन्दिर दर्शन गर्न र हेलिकप्टरबाट सातवटा ताल समेतको क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न पाउने उनले जानकारी दिए। महोत्सवमा आउने मत्स्यपालक किसानले ‘माछा रोग तथा पानी परीक्षण शिविर’ र माछा बिक्रीको अवसरबाट पनि लाभ लिन सक्ने उनको भनाइ छ। आयोजकका अनुसार महोत्सवमा करिब ७० हजार आगन्तुक सहभागी हुने र लगभग ४० लाख रुपैयाँबराबरको व्यापार हुने अनुमान गरिएको छ।
महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछा र मोती खेतीबारे जानकारीमूलक प्रदर्शनी हुनेछ। माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री पनि रहनेछ। बेगनास ताल वरपरका पर्यटकीय स्थलको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने कार्यक्रम पनि समावेश हुने लामिछानेले जानकारी दिए। स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रवर्द्धनसँगै समग्र पर्यटन विकासमा महोत्सवले योगदान पुग्ने उनको विश्वास छ।
बेगनास ताल माछाको विविधताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्र्याइएका बाह्य प्रजातिका माछा पाइन्छन्।
एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीका अनुसार २०७१ सालदेखि सुरु भएको फिस फेस्टिभलको पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समय आयोजना हुन सकेन। कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै लोप हुँदै गएको देउसीभैलो संस्कृतिको संरक्षण, विभिन्न जातका माछाका परिकारको प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन छैटौँ संस्करण गर्न लागिएको उनले बताए।
एसोसिएसनकी सचिव शक्ति श्री कोइरालाले महोत्सव सञ्चालनमा करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको जानकारी दिइन्। महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड तथा टिकट र स्टल बिक्रीबाट प्राप्त आम्दानीबाट खर्च व्यवस्थापन गरिनेछ। महोत्सवबाट बचत भएको रकम तालबराही, गोरखनाथ मन्दिर र बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको उनले बताइन्। स्थानीय माछाका प्रजातिलाई ब्रान्डका रूपमा विकास गर्ने, परम्परागत नेपाली गीत–संगीतको संरक्षण गर्ने र पर्यटन व्यवसायलाई थप चलायमान बनाउने लक्ष्य पनि महोत्सवले लिएको आयोजकले जनाएको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महानगरभित्रका आठवटै तालको पर्यटकीय सम्भावनाका आधारमा व्यवस्थित विकास गर्नुपर्ने बताए। तालको पहिचान र विशेषताअनुसार नामकरण तथा प्रवर्द्धन गर्दै पोखरालाई ‘तालैतालको सहर’ का रूपमा विकास गर्न उनले सुझाव दिए। एउटा ताललाई जलक्रीडा (वाटर स्पोर्ट्स) केन्द्र बनाउन सके पानीमा रमाउन चाहने पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो। पर्यटन व्यवसायीबीच सहकार्य र एकताबाट समग्र कास्कीको विकासमा योगदान दिन उनले आग्रह गरे।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता महोत्सवले लेखनाथ क्षेत्रको आर्थिक गतिविधि बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन सघाउने बताए। स्थानीय माछाका परिकार तथा रैथाने खानाको प्रवर्द्धनमा महानगरपालिका सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले गाउँ र सहरबीच सहकार्य गरेर उत्पादन र आर्थिक विकासमा जोड दिनुपर्ने बताए।
कसमस इन्टरनेसनल कलेजकी युनिट प्रमुख प्रभा भुजेलले अन्तर्राष्ट्रिय भाषाको अध्ययन–अध्यापन गराउँदै आएको शैक्षिक संस्था पर्यटन क्षेत्रसँग जोडिएर काम गर्न तयार रहेको बताइन्।
महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, गोर्खा ब्रुअरी नेपालसहित विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायको सहयोग रहने आयोजकले जनाएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्