काठमाडौं।। प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार मध्यरातमा एउटा रमाइलो पोस्ट गरेका छन् । चितवनमा आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रपछि लटौली सेञ्चुरी रिसोर्टमा पुगेपछि बालेनको पोस्ट आएको हो ।
रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेन र रास्वपा सभापति रवि लामिछाने एउटै होटलमा बसेका हुन् । बास बसेको होटलमा खानपिन भएपछि बालेनले रविका स्वकीय सचिव अविनास (प्रदीप) आचार्यले झलकमान गन्धर्वले गाएको ‘हे बरै, बाबाले सोध्लान् खोई छोरा भन्लान्’ गीत गाएको भिडियो पोस्ट गरेका हुन् । उनले उक्त गीत चार मिनेट २३ सेकेन्डमा गाइसकेका छन् । पत्रकारसमेत रहेका अविनास रवि लामिछाने गृहमन्त्री बनेपछि उनको नजिक रहेर काम गर्दै आएका छन् ।
राति होटलको कोठामा खिचिएको भिडियोमा अविनासले मस्तसँग गीत गाएका छन् । उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । उनीहरू चितवनको लटौली सेञ्चुरी रिसोर्टमा बास बसेका हुन् ।
परिवारसहित आएका दुवै नेताको बसाइ महाधिवेशन अवधिभर लटौली होटलमै हुने चितवनको सुरक्षा स्रोतले जानकारी दिएको छ । आइतबार महाधिवेशनको उद्घाटन सत्र समापन भएपछि प्रधानमन्त्री शाह र सभापति लामिछाने परिवारका साथै केही सहयोगीलाई लिएर होटल पुगेका हुन् । उक्त होटलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसहित सबै नेता साँझ साढे ६ बजेपछि रिसोर्ट प्रवेश गरेका थिए ।
केही महिनाअघि मात्रै चितवनको कालिका नगरपालिका–९ मा पर्ने शक्तिखोरमा खुलेको यो होटल महँगो होटलमा गनिन्छ । होटलको वेबपेजमा उल्लेख भएअनुसार परिवार बस्न मिल्ने बेडको एक दिनको न्यूनतम शुल्क एक सय ५५ अमेरिकी डलर पर्छ ।
रिसोर्टमा सभापति लामिछाने, प्रधानमन्त्री शाह र प्रधानमन्त्रीका सल्लाहकार बेनका लागिसमेत गरेर भिआइपी कोठा तयार गरी बस्ने प्रबन्ध गरिएको छ । रिसोर्टमा १९ वटा कोठा रहे पनि अहिले रास्वपाका नेता तथा सरकारका उच्च नेतृत्व र उनीहरूका परिवारका सदस्य मात्र बसेका छन् ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्