काठमाडौं।। काठमाडौं र ललितपुरमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बाँडेगाउँमा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा नमस्ते मेट्रो अस्पतालमा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने मोटरसाइकलको नम्बर नखुलेको र खोजी कार्य भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

मृतक बालक गोदावरी नगरपालिका वडा नम्बर–३ का स्थानीय हुन् । त्यस्तै, भोटेबहालबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ४२ वर्षीया महिला छिन् । उनको नाम र ठेगाना खुलेको छैन । आइतबार बिहान ११ बजे उनलाई बा।३ ख ४६४० नम्बरको मिनीट्रकले ठक्कर दिएको थियो ।

उपचारको क्रममा गएराति उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । मिनीट्रक चालक गुल्मी घर भएर काठमाडौं को दमाई टोल बस्ने २८ वर्षीय सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।