काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्लेले वासिङ्टन डी.सी.मा अध्यक्ष बांगासँग भेटवार्ता गरेका हुन्।

भेटमा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार, बिमा र सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरेका छन्।

अध्यक्ष बांगाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए। नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए।

अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार अध्यक्ष बांगाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमलगायत विकास साझेदारसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिएका छन्।

नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।