काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार कूल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ पुरस्कार वितरण गरिने भएको हो।

मन्त्रालयका अनुसार यसपटक १०१ जना खेलाडी तथा खेलकर्मीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। यो हालसम्म सरकारले अन्तर्राष्ट्रिय पदक विजेताका लागि घोषणा गरेको सबैभन्दा ठूलो नगद
पुरस्कार हो।
पुरस्कार प्राप्त गर्ने सूचीमा १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का चार पदक विजेता, प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला र पुरुष टोलीका ३६ खेलाडी, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का तीन कांस्य पदक विजेता, १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का तीन पदक विजेता तथा एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका सात खेलाडी समावेश छन्।
यस्तै, एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेता १७ खेलाडी, ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का एक कांस्य पदक विजेता, एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का एक स्वर्ण पदक विजेता, आइएसएफ जिम्नासियाड–२०२४ का नौ पदक विजेता तथा एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४ जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार पारिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई चाँडै नगद पुरस्कारसहित सम्मान गरिने जनाएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्