तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा आसपासका बन्दरगाह क्षेत्रमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेको जनाएको छ। यससँगै मध्यपूर्वमा जारी तनावले विश्वव्यापी ऊर्जा बजारमा पुनः दबाब सिर्जना गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव फिर्ता लिएको केही घण्टापछि नै अमेरिकी सैन्य गतिविधि तीव्र बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानले भने विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम रहने अडान दोहोर्याएको छ। गत फेब्रुअरीको अन्त्यसम्म उक्त जलमार्ग अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनका लागि खुला रहेको बताइएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजिसी) ले अमेरिकी नाकाबन्दीले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिएको छ। साथै, युद्ध चर्किए अन्य समुद्री मार्गहरू पनि प्रभावित हुन सक्ने उल्लेख गरेको छ।

आईआरजिसीले जारी गरेको वक्तव्यमा ऊर्जा आपूर्ति सुरक्षित रहे सबै राष्ट्र लाभान्वित हुने भए पनि युद्ध विस्तार भए कसैले पनि त्यसको फाइदा लिन नसक्ने चेतावनी दिइएको छ।

इरानका उपविदेशमन्त्री काजेम गरिबाबादी ले अमेरिकी कदमले गत महिना भएको अन्तरिम युद्धविराम र शान्ति वार्तासम्बन्धी समझदारीलाई कमजोर बनाएको टिप्पणी गरेका छन्।

यसैबीच, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानको तटीय क्षेत्रका जलमार्ग र दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। सेन्टकमका अनुसार व्यापारिक जहाज तथा नागरिक कर्मचारीमाथि खतरा उत्पन्न गर्ने इरानी सैन्य क्षमता कमजोर बनाउने उद्देश्यले ती आक्रमण गरिएको हो।

इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम टापु र बन्दर इमाम खोमेनी क्षेत्रमा विस्फोट भएका छन्। आक्रमणपछि बहराइनमा साइरन बजाइएको थियो भने कुवेत र जोर्डनले इरानबाट प्रहार गरिएका ड्रोन र मिसाइलहरू अवरोध गरेको दाबी गरेका छन्।

इरानी सरकारी समाचार संस्था आईआरएनए ले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ड्रोन आक्रमण गरिएको जनाएको छ। उता, फक्स न्यूजका अनुसार राष्ट्रपति ट्रम्पले तेहरान शान्ति वार्तामा नफर्किए अर्को साता विद्युत् केन्द्र तथा पुलहरूमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

आईआरजिसीले अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलडमरूमध्य बन्द रहने र प्रतिकारात्मक कारबाही पनि निरन्तर जारी रहने जनाएको छ।

सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपर ले गत सातामात्र इरानले सात वटा व्यापारिक जहाजमा आक्रमण गरी करिब एक दर्जन चालकदलका सदस्यको ज्यान लिएको आरोप लगाएका छन्। उनले नागरिकको सुरक्षामा खतरा पुर्‍याउने गतिविधिका लागि इरानलाई जवाफदेही बनाइने बताएका छन्।

यसैबीच, संकट प्रतिक्रिया कम्पनी एमटीआई नेटवर्क का अनुसार मंगलबार ओमानको तटमा भएको विस्फोटमा एक नर्वेली तेल ट्यांकर क्षतिग्रस्त भएको छ। कुवेतले पनि इरानी ड्रोन र क्षेप्यास्त्र आक्रमणका क्रममा आफ्नो एक नौसैनिक जहाजमा क्षति पुगेको तथा चालकदलका चार सदस्य घाइते भएको जनाएको छ।

एएफपी का अनुसार इरानी सरकारी सञ्चारमाध्यम र आधिकारिक स्रोतहरूलाई उद्धृत गर्दै गत सातादेखि जारी अमेरिकी आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको बताइएको छ।

यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू ले इरानबाट थप आक्रमण भए त्यसको ‘कडा र व्यापक जवाफ’ दिइने चेतावनी दिएका छन्।