जनकपुरधाम।। धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भएका अविवाहित छोरीलाई उच्च शिक्षामा प्रोत्साहन गर्न अभिभावक सम्मान कार्यक्रम अघि बढाएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा उक्त कार्यक्रम समावेश गर्दै त्यसबाट छोरीको उच्च शिक्षामा पहुँच बढ्ने र बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने पालिकाले विश्वास लिएको छ ।

शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा तथा व्यापार–व्यवसायको सिलसिलामा नियमितरुपमा जिल्ला सदरमुकाम आवतजावत गर्नुपर्ने पक्षलाई दृष्टिगत गरी हालै सम्पन्न १५ औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा धनौजीदेखि जनकपुरधामसम्म न्यून शुल्कमा यातायात सेवा सञ्चालन कार्यक्रम पनि अघि सारेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार साहले स्थानीयको यातायात खर्च कम गर्न तथा सहज पहुँच सुनिश्चित गर्ने न्यूनतम शुल्क लिएर नियमित सार्वजनिक यातायात सेवाल सञ्चालन गर्न लागिएको बताएका थिए । धनुषाको दक्षिण भेगमा अवस्थित धनौजीका बासिन्दालाई विभिन्न काम विशेषले दैनिक रूपमा जनकपुरधाम आउजाउ गर्नुपर्ने बाध्यताछ । निजी सवारी साधन नहुने तथा सार्वजनिक यातायात सेवा नियमित नहुँदा स्थानीय नागरिकले सास्ती झेल्दै आएका थिए ।

गाउँपालिकाले स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई आगामी वर्षको प्रमुख प्राथमिकतामा राखेको पालिका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले बताउछन् ।नीति तथा कार्यक्रममा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी पाँच वर्षभित्र गाउँपालिकालाई पूर्ण पोषणयुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएको छ ।

कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर नियमित आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने घोषणा गरेको छ । स्वास्थ्यकर्मीमार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गर्ने नीति लिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ज्येष्ठ नागरिक तथा सुत्केरी महिलाका लागि नियमित स्वास्थ्य परीक्षण र घरबाट अस्पतालसम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत दासले बताउछन् । कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले ‘एक गाउँ अनेक उद्यान’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

त्यस कार्यक्रममार्फत गाउँका विभिन्न क्षेत्रमा फलफूल तथा अन्य कृषि बालीका उद्यान विकास गरिनेछ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा किसानको आयआर्जन बढाउने लक्ष्यसहित किसानलाई विभिन्न प्रकारका अनुदान कार्यक्रम पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, पोषण सुधार, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई आगामी वर्षको बजेट तथा कार्यक्रमले केन्द्रमा राखेको छ ।

स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ६० करोड ६५ लाख ५७ हजारको बजेट प्रस्ताव गरेको छ ।

गाउँसभामा चालुतर्फ रु ३५ करोड १० लाख ५७ हजार तथा पुँजीगततर्फ रु २५ करोड ५५ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा, सडक तथा पूर्वाधार विकास, खानेपानी, सरसफाइ र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।रासस