आज गाईको पूजा गरी मनाइँदै गाई तिहार, धार्मिक विधिअनुसार गौमाताको आराधना

तिहारको चौथो दिन आज घरघरमा गाईको पूजा आराधना गरी गाई तिहार मनाइँदैछ। यस अवसरमा हिन्दू धर्मावलम्बीहरूले गाईलाई माला लगाइदिने, टीका लगाउने र मीठा परिकार खान दिएर श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ।

हिन्दू धर्ममा गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ। गाईबाट प्राप्त हुने दूधलाई आमाको दूधसरह पोषिलो मानिने धार्मिक तथा सांस्कृतिक विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गर्ने चलन रहिआएको छ।

दूध, गोबर र गहुँतजस्ता वस्तु धार्मिक अनुष्ठानदेखि दैनिक जीवनसम्म उपयोगी मानिने भएकाले पनि गाईको विशेष महत्व रहेको छ। सनातन हिन्दू परम्परामा गाईलाई समृद्धि, पवित्रता र मातृत्वको प्रतीकका रूपमा समेत लिने गरिन्छ।

धार्मिक मान्यताअनुसार आज विधिपूर्वक गाईको पूजा गरी श्रद्धापूर्वक भोजन गराउँदा पुण्य प्राप्त हुने विश्वास छ। विभिन्न धार्मिक कर्मकाण्डमा गाईदान गर्ने परम्परा पनि प्रचलित छ।

धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको गाईलाई नेपाल सरकारले राष्ट्रिय जनावरका रूपमा मान्यता दिएको छ। यसरी गाई तिहारले नेपाली समाजमा गाईप्रतिको सम्मान, श्रद्धा र परम्परालाई निरन्तरता दिँदै आएको छ।