काठमाडौं । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

यस्तो मौसमले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार तथा राहतका काममा समेत असर पर्न सक्ने भएकाले पछिल्लो मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन अनुरोध गरिएको छ।

दिउँसो देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बादल रहनेछ।

हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराईमा आंशिक बादल रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना छ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ।

कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम हुन सक्ने भएकाले यात्रा तथा दैनिक गतिविधि गर्दा आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ।