वाशिङ्टन । अमेरिकी सेनाले क्यारिबियन सागरमा लागुऔषध तस्करीमा प्रयोग भएको आशंका गरिएको एउटा डुङ्गामाथि शनिबार आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ।
अमेरिकी सेनाको दक्षिणी कमाण्डका अनुसार उक्त डुङ्गा लागुऔषध तस्करीमा सक्रिय रहेको सूचना प्राप्त भएपछि कारबाही गरिएको हो। सेनाले डुङ्गा लागुऔषध तस्करीका लागि प्रयोग भइरहेको दाबी गरेको छ।
यो आक्रमण ट्रम्प प्रशासनले ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध सञ्चालन गरिरहेको अभियानअन्तर्गत भएको पछिल्लो कारबाही हो। अमेरिकी प्रशासनले लक्षित समूहलाई ‘नार्को–आतङ्कवादी’ भन्दै कारबाही गर्दै आएको छ।
समाचार संस्था एपीका अनुसार पछिल्लो घटनासहित अमेरिकी सेनाले क्यारिबियन सागर र पूर्वी प्रशान्त महासागरमा यस्ता ६९ वटा आक्रमण गरिसकेको छ। ती आक्रमणमा कम्तीमा २३१ जनाको मृत्यु भएको जनाइएको छ।
तर अमेरिकी सेनाले पछिल्लो आक्रमणमा लक्षित डुङ्गामा वास्तवमै लागुऔषध रहेको प्रमाण सार्वजनिक गरेको छैन। यस अभियानलाई लिएर केही मानवअधिकार समूहले कानुनी प्रश्नसमेत उठाउँदै आएका छन्।
ट्रम्प प्रशासनले भने यी कारबाहीलाई अमेरिकामा लागुऔषधको प्रवाह रोक्ने अभियानका रूपमा प्रस्तुत गर्दै आएको छ।




(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्