काठमाडौं । आज २०८३ साल जेठ २४ गते आइतबार, अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि तथा सन् २०२६ जुन ७ तारिख परेको छ। हिन्दू धर्मशास्त्रअनुसार सप्ताहका प्रत्येक दिन कुनै न कुनै देवी–देवताको आराधना गर्ने परम्परा रहेको छ। आइतबार विशेषगरी सूर्यदेवको पूजा–आराधना गर्ने दिनका रूपमा मान्यता प्राप्त छ।
वैदिक सनातन परम्परामा सूर्यलाई प्रत्यक्ष देख्न सकिने देवता मानिन्छ। सम्पूर्ण जीव–जगतलाई प्रकाश, ऊर्जा र जीवन प्रदान गर्ने सूर्यदेवको पूजा गर्दा मनोकामना पूरा हुने तथा जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्यदेवको विधिपूर्वक पूजा गर्नाले व्यक्तिको समाजमा मान–सम्मान, प्रतिष्ठा तथा नेतृत्व क्षमता वृद्धि हुने मान्यता छ। साथै जन्मकुण्डलीमा रहेको सूर्यसँग सम्बन्धित दोष कम हुने र जीवनमा आउने विभिन्न बाधा–अवरोध हट्ने विश्वास गरिन्छ।
सूर्य पूजा गर्न चाहने भक्तजनले बिहान ब्रह्ममुहूर्तमा उठेर स्नान गरी शुद्ध वस्त्र धारण गर्नुपर्छ। त्यसपछि नजिकैको मन्दिरमा गई भगवानको दर्शन गर्ने वा घरमै सूर्यदेवको ध्यान गरेर पूजा गर्न सकिन्छ। पूजा गर्दा उदाउँदो सूर्यतर्फ फर्किएर तामाको भाँडोमा शुद्ध जल लिएर अर्घ्य अर्पण गर्नु विशेष फलदायी मानिन्छ।
पूजाका क्रममा सूर्यदेवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल, अक्षता (चामल) तथा गुड वा गुडबाट बनेका मिठाई चढाउने परम्परा छ। श्रद्धा र भक्तिभावका साथ यी सामग्री अर्पण गरेपछि सूर्यदेवको मन्त्र जप गर्नुपर्ने धार्मिक विधान रहेको छ।
यस दिन भक्तजनले निम्न मन्त्र जप गर्न सक्छन्–
प्रातः स्मरामि खलु तत्सवितुर्वरेण्यम्
रूपं हि मण्डलमृचोऽथ तनुर्यजूंषि।
सामानि यस्य किरणाः प्रभवादिहेतुं
ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्॥
अथवा
ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।
धार्मिक मान्यताअनुसार यी मन्त्रको जपले मानसिक शान्ति, आत्मबल तथा सकारात्मक ऊर्जा प्रदान गर्छ। साथै सूर्यदेवको विशेष कृपा प्राप्त भई जीवनमा सुख, समृद्धि र सफलता प्राप्त हुने विश्वास गरिन्छ।
सनातन परम्परामा सूर्य पूजा केवल धार्मिक आस्थाको विषय मात्र नभई अनुशासन, स्वास्थ्य र सकारात्मक जीवनशैलीसँग पनि जोडिएको मानिन्छ। त्यसैले प्रत्येक आइतबार सूर्यदेवको स्मरण, पूजा तथा मन्त्रजप गर्नाले आध्यात्मिक र मानसिक लाभ प्राप्त हुने विश्वास रहिआएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्