१९ असोज, काठमाडौं । आईएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ। खेलमा स्वीफ्ट टेक्नोलोजीले आईएमई वारियरविरुद्ध ५–१ को फराकिलो जित निकालेको हो।
काठमाडौं धन्वन्तरी फुटसल मैदानमा आईएमई ग्रुपले आयोजना गरेको सिनर्जी कपअन्तर्गतको पहिलो खेल आईएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुपअन्तर्गतका कम्पनीका सीईओबीच भएको थियो। उक्त खेलमा आईएमई ग्रुप म्यानेजमेन्ट समूहले २–० को जित निकालेको थियो।
प्रतियोगितामा आईएमई ग्रुपअन्तर्गतका १८ कम्पनीले सहभागिता जनाएका थिए। पहिलो उपाधि रक्षा गरेको स्वीफ्ट टेक्नोलोजीले १ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने दोस्रो र तेस्रो हुने समूहले क्रमशः ५० हजार र ३५ हजार रुपैयाँ नगद पाएका छन्।
खेल सुरु हुनुअघि उद्घाटन सत्रमा बोल्दै आईएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रुपको आयोजनामा भएको यस्तो खेलले प्रत्येक कर्मचारीबीच सौहार्द्रता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा ट्रफी हस्तान्तरण गर्दै आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले खेलमा सहभागी प्रत्येक समूहले उत्तिकै शानदार प्रदर्शन गरेको उल्लेख गरे। उनले आगामी वर्षको खेलका लागि थप ऊर्जासाथ सहभागी हुन सबै समूहलाई शुभकामना दिए।
आईएमई ग्रुपको आयोजनामा पहिलो पटक भएको सिनर्जी कप २०८३ को डिसहोमअन्तर्गतको एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्