साउदी अरबमा आक्रमण : एक नेपालीको मृत्यु, तीन जना घाइते
साउदी अरबमा पछिल्लो समय भएका आक्रमणका घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भइसकेका छन् भने अन्य दुई जनाको उपचार जारी छ।
गत नोभेम्बर २४ मा साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरमा भएको आक्रमणमा ११ जना घाइते भएका थिए। तीमध्ये तीन जना नेपाली नागरिक रहेको मन्त्रालयले जनाएको छ। साउदी अरबको नागरिक सुरक्षा निकायले उक्त आक्रमणमा यमनको हुथी समूह जिम्मेवार रहेको बताएको थियो।
यद्यपि, पछिल्लो घटनामा ज्यान गुमाउने नेपालीको परिचय, मृत्यु भएको मिति र स्थानबारे मन्त्रालयले खुलाएको छैन। उनको मृत्यु नोभेम्बर २४ को आक्रमणसँग सम्बन्धित भए–नभएको पनि स्पष्ट हुन सकेको छैन।
यसअघि गत अक्टोबर २१ मा साउदी अरबको शेबाह तेल क्षेत्रमा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा नेपाली श्रमिक भरत महतोको मृत्यु भएको थियो।
मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नेपालले नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि अवस्थामा निशाना बनाउन नहुने धारणा दोहोर्याउँदै सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न आग्रह गरेको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्