• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

नेपाल उद्योग परिसङ्घ र थाई उद्योग महासङ्घबीच लगानी प्रवर्द्धनसम्बन्धी समझदारी

२० चैत २०८१, बुधवार

 काठमाडौं, २० चैत – नेपाल उद्योग परिसङ्घ (सिएनआई)र थाई उद्योग महासङ्घ (एफटीआई)बीच लगानी प्रवद्र्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्याण्ड भ्रमणका क्रममा दुई देशका निजी क्षेत्रबीच लगानी प्रवद्र्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि समझदारी भएको सिएनआईले जनाएको छ ।

समझदारीपत्रमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका थिए ।  “लगानी तथा व्यापार प्रवद्र्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदानलगायतमा सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको हो”, परिसङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

 विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याण्डको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसङ्घका अध्यक्ष अग्रवालले गरेका थिए। लगानी प्रवद्र्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरुमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने उनको भनाइ थियो । दुई संस्थाबीच भएको समझदारीपत्र हस्ताक्षर समारोहमा थाइल्याण्ड भ्रमणमा रहनुभएका नेपाली प्रतिनिधि सहभागी थिए। रासस

COMMENT

.