• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा विविध कार्यक्रम

१५ चैत २०८१, शुक्रवार

गण्डकी, १५ चैत – नेपाल पत्रकार महासङ्घको ७०औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाउन सुरु गरिएको छ । 

शनिबार परेको दिवसको पूर्वसन्ध्यामा महासङ्घका जिल्ला शाखाले आ–आफ्नै मौलिकतामा कार्यक्रम आयोजना गरेका हुन् । म्याग्दी शाखाले बिहीबार धवलागिरि क्षेत्रमा क्रियाशील पत्रकारबीच मैत्रीपूर्ण फुटसलको आयेजना ग¥यो । उक्त खेलमा महासङ्घको बागलुङ शाखा विजयी बन्यो । चार टोली सहभागी खेलमा उपविजेताको उपाधि पनि बागलुङ शाखाकै अर्को टोलीले हात पार्यो । 

सर्वाधिक गोलकर्ताका रुपमा बागलुङ शाखाका सङ्गम घर्तीमगर र उत्कृष्ट खेलाडीमा विजयी राना घोषित भए । विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिएका थिए। उनले पत्रकारबीचको एकता र भाइचारा अभिवृद्धिसहित खेलकुद प्रवद्र्धनको सन्देश दिन फुटसल आयोजना गरिएको बताएका थिए। महासङ्घको स्थापना दिवस पारेर पत्रकारको दुर्घटना बिमा, स्वास्थ्य परीक्षण, सहयोग हस्तान्तरणलगायत कार्यक्रम गर्न लागिएको अध्यक्ष गौतमले बताएका छन् । 

महासङ्घ बागलुङ शाखाले पनि आजदेखि दुई दिनसम्म विविध कार्यक्रमसहित स्थापना दिवस मनाउन लागिएको जनाएको छ । बागलुङ शाखाका सचिव नारायण रिजालका अनुसार आज सरसफाइ, वृक्षरोपण, पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगर स्वास्थ्य शाखा र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल), धवलागिरिको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गर्न लागिएको उनको भनाइ छ । 

कार्यक्रममा मिर्गौला, मधुमेह, युरिक एसिड, कोलेस्ट्रोल बिएमआइ (बडी मास इन्डेक्स) उच्च रक्तचाप जाँच, पाठेघरको मुखको स्क्रिनिङलगायत गरिने भएको छ । 

डिभिजन वन कार्यालय बागलुङसँगको सहकार्यमा महासङ्घको कार्यालय परिसरमा वृक्षरोपण तथा सरसफाइ सचेतना कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिएका छन्।

स्थापना दिवसको मुख्य दिन शनिबार प्रभातफेरीसहित चियापानको आयोजना गरिएको सचिव रिजालले बताएका थिए । 

स्थापना दिवसको अवसर पारेर कास्की शाखाले अदालती रिपोटिङ र पर्वत शाखाले पत्रकार डिजिटल साक्षरता एवं रुपान्तरणकारी नेतृत्व विकास कार्यक्रम आयोजना गरेको छ । पोखरा र पर्वतको कुश्मामा गरी दुई दिनसम्म ती तालिम सञ्चालन हुनेछन् । गण्डकी प्रदेशका अन्य जिल्ला शाखाले पनि विविध रचनात्मक कार्यक्रमसहित महासङ्घको स्थापना दिवस मनाउन लागेका हुन् । रासस

COMMENT

.