काठमाडौं ,चैत १२– सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको छ । उनको बर्खास्तीले वर्तमान सत्ता गठबन्धनमा हलचल ल्याएको छ । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु नै यसको विरुद्धमा उत्रिएका छन् । भने प्रतिपक्ष दल देखि आम सर्वसाधरणले समेत यसको खुलेर विरोध गरिरहेका छन् । उनलाई हटाउनकै लागि सरकारले यसअघि पटक पटक स्पष्टीकरण सोधेको थियो ।
आगामी साउनमा कार्यकाल सकेर बिदा हुन लागेका घिसिङलाई नेपाली कांग्रेस र एमालेसहितको गठबन्धन सरकारले हटाएपछि अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । राजनीतिक व्यक्ति, सेलिब्रिटीदेखि सर्वसाधारणसम्मले सरकारको उक्त निर्णयको विरोध गरेका छन् । कुलमान घिसिङ नेपालको ईतिहासका एक त्यस्ता पात्र हुन जसले १८,१८ घण्टाको लोडसेडिङलाई हटाएर नेपाली जनतालाई उज्यालोमा राख्न सफल भए । त्यस्ता व्यक्तिलाई हटाएर सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लागिरहेको छ । कुलमानलाई हटाएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै सालो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणमा नियुक्त गरेका छन् । यसबाट पनि पुष्टि हुन्छ की सरकारको नियत खराब छ भन्ने कुरा । नेपाल विद्युत प्राधिकरणमा कुलमान जस्ता दर्जनौ व्यक्ति निर्देशक बनेर आए, गए । तर ती सबैले कुलमानले जस्तो काम गर्न सकेनन् । कुलमानले विद्युत प्राधिकरणमा आएको तीन महिनामा नै नेपालको लोडसेडिङ हटाएका थिए । यस्ता व्यक्तिलाई फुलमाला र बाजागाजा सहित नगर परिक्रममा गराउनु पर्नेमा सरकारले बर्खास्तीको कारबाही गर्यो ।
यी सबै घटना क्रममा नियाल्दा यस्तो लाग्छ की यो देशलाई त्यसै भनिएको होइन रहेछ सतीले सरापेको देश भनेर । कुलनमानले नेपालमा लोडसेडिङ मात्र घटाएनन्, अरबै घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई अरबै नाफामा समेत पुर्याए । दुर्गम ठाउँमा बिजुली पुर्याएका उनले बिजुली बाल्ने हैसियत नहुने नागरिकका घरमा निशुल्क विजुली दिए । एक हिसाबले सरकारले गर्नुपर्ने काम कुलमानले गरे । तर उनले राम्रो गरेको बर्तमान सरकारले देखि नसहेको आम नागरिकले गुनासो गरेका छन् । यसर्थ कुलमानको बर्खास्तीले उब्जीएको असन्तुष्टिलाई साम्य पार्न सरकारले समयमै उपयुक्त कदम चालोस ।
COMMENT
.