• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

‘अञ्जिला’ को मुनाफाबाट कप्तान सुब्बाको घर बनाइने

४ चैत २०८१, सोमवार

काठमाडौं, ४ चैत – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उहाँकै घर निर्माणमा प्रयोग गरिने निर्माता प्रेमकुमार श्रेष्ठले बताएका छन् । कप्तान सुब्बालाई इलामदेखि काठमाडौं ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाउनुभएका निर्माता श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन्।

उनले भनेका छन्, “यस चलचित्रबाट प्राप्त सम्पूर्ण मुनाफा अञ्जिलाको घर निर्माणमा लगाउने छौँ । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट सङ्कलन भएको रकमले हामीले देखेको सपना पूरा हुनेमा विश्वस्त छौँ ।”

उनका कप्तान सुब्बाको धर्मपिताका रुपमा परिचित हुनुहुन्छ । गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले तीन दिनमा रु दुई करोड सात लाखको व्यापार गरेको वितरक करण श्रेष्ठले जानकारी दिएकाछन् । “प्रदर्शनकै दिनदेखि हामी काठमाडौँ उपत्यकामा रहेका प्रायः चलचित्र भवनमा पुगेर दर्शकमाझ प्रतिक्रिया लिइरहेका छौँ । चलचित्रको व्यापार पहिलो दिनको तुलनामा दोस्रो दिन र दोस्रो दिनको तुलनामा तेस्रो दिन बढेको छ । चलचित्र हेर्नुभएका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्, यसकारण आउँदा दिनमा व्यापार बढ्नेमा हामी विश्वस्त छौँ”, वितरक श्रेष्ठले भनेका छन् ।

उनले चलचित्र प्रदर्शनको चौथो दिन आइतबार र पाँचौँ दिन आज पनि दर्शकको उपस्थिति राम्रो रहेको जानकारी दिँदै थप व्यावसायिक तथ्याङ्क आउँदो केही दिनमा सार्वजनिक गर्ने बताएकाछन् । कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उहाँको सङ्घर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताएका छन् ।

“कप्तान सुब्बाको कथा सुनेपछि यसले अन्यलाई प्रेरणा दिन्छ भनेर चलचित्र निर्देशन गर्न सहमत भएको थिएँ । हामीले रुचाएको कथालाई दर्शकले पनि रुचाएका छन् । यो सफलताले आगामी दिनमा अन्य खेलाडीको कथामा चलचित्र निर्माण गर्न हौसला थपेको छ”, निर्देशक चाम्सले भनेकाछन्।

चलचित्रमा कप्तान सुब्बासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेकाछन् । चलचित्र निर्माणमा तुबेन्द्र लिम्बू, विनोद अग्रवाल, राजेश बगडियाले सहकार्य गरेका छन्। रासस

COMMENT

.