
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । मंगलबार चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई रोक्ने होइन भने संसद्को विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए ।
राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै उनले यस्ता हर्कत स्वीकार्य नहुने बताए । आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरू सञ्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए ।
अध्यक्ष प्रचण्डले देशभरका हजारौँ सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस र एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरूलाई बचाउन केन्द्रित रहेको बताए । आफ्नाहरूलाई जोगाउँदै सारा ठगी नै रवि लामिछानेले गरेको झैँ गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको उनले बताए ।
COMMENT
.