काठमाडौं । भनिन्छ, ‘छिमेकी मर्दाका मलामी, जिउँदाका जन्ती हुन्।’ समाजमा बस्नेका लागि सबैभन्दा नजिकका आफन्त भनेकै छिमेकी हुन्। तर बैतडीको सिगास गाउँपालिका १ आङडेगाडाका प्रकाश दमाईलाई छिमेकी काम लागेनन्। प्रकाशका लागि छिमेकी मलामीसम्म बन्न सकेनन्।
आमा गुमाएको शोक र पीडामा छटपटाएका प्रकाशका लागि छिमेकीले मनको घाउँमा साथको मलहम लगाउने होइन नुन र चुक छर्किने काम गरे। प्रकाशकी आमा माना दमाईको शव दुई दिनदेखि आँगनमा छ। औपचारिकताका लागि खबर सोध्न, आमाको शव हेर्न र साक्षी बन्न छिमेकी पुगे तर, मलामी बन्न तयार भएनन्।
आङडेगाडामा अरु झन्डै ६५, ७० घरधुरी बसोबास गर्छन् । यो गाउँमा दलित र गैरदलित सबै बस्छन्। तर प्रकाश एक्लो दमाई परिवार भएकै कारण छिमेकीले आमाको शव उठाउन साथ दिएनन्। देख्दा छिमेकी देखिए तर कुनै पनि छिमेकी मानाको मलामी हुन तयार भएनन्। प्रकाशका लागि समस्या पर्दा कोही आफ्नो भएनन्।
कुनै पनि छिमेकीले मानवता नै देखाएनन्। प्रकाश गाउँमै रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । उनले पढाउँदा दमाई जातले छेकेन। तर आमा मर्दा उनी एक्लो भएका छन्। मलामी भएर गइदिने मान्छे भेट्टाएनन्। शनिबार बिहान ११ बजेतिर प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भएको हो।
मानाको मृत्युको खबर गाउँभर पुग्यो। गाउँले उपस्थित पनि भए, तर उनको शव उठाएर मलामी जान कोही तयार भएनन्। आइतबार बिहानसम्म आमाको शव आँगनमै छ। परिवारमा बुवा जयराम, श्रीमती र चार सन्तान छन्। गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, नेपाली, लोहारको पनि बसोबास छ। उनीहरुले समेत दमाईको शव छुन र बोक्न मानेनन्।


COMMENT
.