नवलपुर (नवलपरासी),। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जिल्लाको देवचुली–१ मा रहेको शनिश्चरे तालमा विभिन्न प्रजातिका १६ हजार माछाका भुरा छोडेका छ । विश्व मत्स्य दिवसका अवसरमा कार्यालयले राहु, नैनी र कमनलगायतका प्रजातिका माछाका भुरा तालमा छोडेको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा शर्मिला कुमालले जलीय जैविक विविधताको प्रव्रद्धन, खाद्य तथा पोषण सुरक्षाको संवद्र्धन भन्ने नारासहित माछाका भुरा छोडिएको जानकारी दिएका थिए। प्राकृतिक हिसाबले स्थानीय प्रजातिका माछाका भुरा यहाँको वातावरणमा बढ्न र हुर्कन मद्दत पुग्ने भएकाले राहु, नैनी र कमन प्रजातिका माछाका भुरा छोडिएको कुमालको भनाइ छ । यो ठाउँ पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले पर्यटनसँगै संरक्षणलाई जोड दिने आफूहरुको प्रयास रहेको डा कुमालले बताउछन्।
मत्स्यविकास केन्द्र भण्डारा चितवनमा हुर्काइएको माछाका भुरा ल्याएर प्राकृतिक तालमा छोडिएको उनले जानकारी दिएका थिए । विगतका वर्षमा नारायणी नदीमा माछाका भुरा छोड्ने गरिएको भए पनि यसपटक तालमा छोड्नुको मुख्य उद्देश्य भनेको संरक्षण र पर्यटनलाई जोड्नु नै भएको उहाँले बताएका थिए । “संरक्षणसँगै पर्यटकीय गतिविधिलाई अगाडि बढाउँदा दिगो हुन्छ”, उनले भने, “यो ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेकाले हामीले संरक्षणमा जोड दिएका हौँ ।”
नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यकपर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको उनले बताएका थिए । किसानले भने नेपालका सबै ठाउँमा सबै सिजनमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् । नवलपुरका मत्स्य व्यवसायी इन्द्रमणि भुसालले सरकारले माछापालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताउछन् । सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेसिन, माछालाई चाहिने अक्सिजन, पोखरी खन्न अनुदान दिँदै आएको भए पनि पर्याप्त नभएको किसानको भनाइ छ । रासस


COMMENT
.