काठमाडौं,। सरकारले काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको छ । गत असोज ६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका जगदीश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौं उपत्यकाका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाईको पहुँच पुर्याउने निर्णयअनुसार यही कात्तिक १९ गते नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका थिए ।सरकारको सहकार्यमा भायोनेटले जडान गरेको उक्त इन्टरनेट सेवा एक पटकमा एउटा मोबाइलमा ९० मिनेटसम्म निःशुल्क चलाउन मिल्नेछ ।
देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम मुलुकको राष्ट्रिय बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान हुनु खुसी र गौरवको विषय भएको बताउँछन् । सरकारले गत हप्ता गोङ्गबुस्थित नयाँ बसपार्कसहित उपत्यकाका १९ स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ । जसमा वीर अस्पताल, परोपकार प्रसूति गृह, त्रिभुवन शिक्षण अस्पताल, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कीर्तिपुर बर्न अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पताल सहिद धर्मभक्त अस्पताल रहेका छन् ।
यस्तै पशुपति आर्यघाट, यातायात व्यवस्था कार्यालय एकान्त कुना, राधे राधे र ठुलो भर्याङ, भक्तपुर क्यान्सर अस्पताल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गर्दा आम नागरिकलाई सहज पुग्ने बताउँछन् ।


COMMENT
.