• २५ भदौ २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

‘जेन–जी आन्दोलनमा भएको दमनप्रति आपत्ति, प्रधानमन्त्री ओलीको राजीनामा माग’

२४ भदौ २०८२, मङ्गलवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा भएको उक्त बैठकले जेन–जी आन्दोलनमा राज्यद्वारा भएको दमनको घोर आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन माग गरेको छ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, “सरकारले युवाहरूको आक्रोशलाई बुझ्न सकेन, सम्बोधन गर्न चाहेन। त्यसको परिणामस्वरूप आज यो परिस्थिती सिर्जना भएको हो। उनीहरूको माग जायज छ, प्रतिपक्षको तर्फबाट हामी संवादमार्फत समाधान दिन प्रतिबद्ध छौँ।”पुनले थप स्पष्ट पारे, “युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि राजनीतिक पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु गलत हुन्छ। तर राज्यबाटै ठूलो नरसंहार भएको छ। यसका लागि स्वतन्त्र आयोग गठन गरी सत्यतथ्य छानबिन गर्नुपर्छ र दोषीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ।” बैठकमा सहभागी विपक्षी नेताहरूले आन्दोलन दमन गर्ने सरकारको कार्यशैली असंवेदनशील भएको टिप्पणी गरेका थिए। उनीहरूको भनाइमा, शान्तिपूर्ण माग राखिरहेका युवामाथि बल प्रयोग गर्नु लोकतान्त्रिक मूल्य र मान्यताको विरुद्ध छ।

COMMENT

.