• २२ भदौ २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण, तीनवटा निर्माणको अन्तिम चरणमा

२१ भदौ २०८२, शनिवार

म्याग्दी,। म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलव आठ मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । १११ मेगावाट क्षमताको थप तीनवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुँदीपावर कम्पनीले निर्माण गरेको ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जा लिमिटेडको २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेका हुन् । 

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डबाट अस्थायी रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको हो । डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना निर्माण पूरा नभएकाले उत्पादित विद्युत् खेर जान नदिन अस्थायी संरचनामार्फत राष्ट्रिय प्रणालीमा जोडिएको तुँदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताउछन् । बन्दीदेखि चिमखोलास्थित चिमखोला–राहुघाट–मङ्गलेको विद्युत्गृहसम्म आठ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन ठूलोखोला र २२ दशमलव पाँच मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाले साझेदारी गरेर बनाएका छन् ।

चिमखोलादेखि तिल्केनीसम्म २२० केभी क्षमताको प्रसारण लाइन ठूलोखोला, माथिल्लो ठूलोखोला, चिमखोला–राहुघाट–मङ्गले र अपर राहुघाट जलविद्युत् आयोजनाले बनाएका हुन् । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माण भएको ठूलोखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक संयुक्त ऊर्जाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले यही भदौदेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको जानकारी दिँदै आयोजना पूर्ण क्षमतामा सञ्चालन भएको बताएका थिए । तीन अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल बैङ्क लिमिटेडको नेतृत्वमा सनराइज बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र सिद्धार्थ बैङ्कले लगानी गरेका छन् ।

कुइनेमङ्गले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको ठूलोखोलाको तीन हजार ३८२ मिटर सुरुङ र ६३४ मिटर पेनस्टक पाइप हुँदै ल्याइएको पानीलाई छरीमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरेको हो । रघुगङ्गा गाउँपालिका–८ बन्दीमा बाँध रहेको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा–७ चिमखोलाको बगरस्थित विद्युत्गृहमा खसाल्न ९५० मिटर पेनस्टक पाइपलाइन बनाएको छ ।  चिमखोला–मङ्गले–राहुघाटसहित तुँदी पावर नै प्रवद्र्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत रु १४ अर्ब रहेको छ । 

यसैबीच, अपर राहुघाटले परीक्षण उत्पादनको तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो प्रवद्र्धक ४० मेगावाट क्षमताको राहुघाट र २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा छन् । रासस

COMMENT

.