
काठमाडौं,। यमनमा सक्रिय हुथी समूहद्वारा आइतबार संयुक्त राष्ट्रसङ्घका ११ जना कर्मचारीहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गरेका थिए ।महासचिवले एक विज्ञप्ति जारी गर्दै सो गिरफ्तारीको निन्दा गर्नुका साथै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका थिए । उनले संयुक्त राष्ट्रसङ्घ तथा मानवीय कार्यमा संलग्न संस्थाहरूका कर्मचारीहरूलाई सुरक्षित वातावरणमा कार्य गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्ने कुरामा जोड दिएका थिए ।
महासचिव गुटेरेसले यसअघि पनि यस्ता घटनाहरूको प्रतिवाद गर्दै आउनुभएका थिए र यसपटक पुनः गिरफ्तार गरिएका सबै व्यक्तिहरूको बिना शर्त र शीघ्र रिहाइको माग गरेका थिए । उनले राष्ट्रसङ्घका कार्यालयमा जबर्जस्ती प्रवेश गरिएको, सम्पत्ति कब्जा गरिएको र अन्य कार्यालयहरूमा छिर्न खोजिएको घटनाप्रति पनि गम्भीर चिन्ता प्रकट गरेका थिए ।
संयुक्त राष्ट्रसंघका यमनका लागि विशेष दूत हान्स ग्रुनबर्गका अनुसार, पछिल्लो गिरफ्तारीसँगै यमनको उत्तर क्षेत्रमा नियन्त्रणमा रहेका राष्ट्रसङ्घका कर्मचारीहरूको सङ्ख्या ३४ पुगेको छ । यता, हुथी पक्षले विगत केही दिनयता इजरायली हवाई आक्रमणका कारण आफ्ना केही उच्चपदस्थ व्यक्तिहरूको मृत्यु भएको जानकारी गराएको छ । उक्त घटनापछि उनीहरूबाट प्रतिक्रिया स्वरूप केही कडा अभिव्यक्ति सार्वजनिक भएका छन् । महासचिवले राष्ट्रसंघ र यसको साझेदार संस्थाहरू यमनका जनताको हितमा समर्पित रहेको स्पष्ट पार्दै, शान्तिपूर्ण र स्थायी समाधानका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका थिए । रासस
COMMENT
.