
काठमाडौं,। तीन दिनमै बाबुआमा गुमाएका छोराछोरीको बिजोग कुवेतमा पतिको मृत्यु भएको सुनेपछि बेहोस भएकी धनकुटाकी एक महिलाको पनि मृत्यु भएको छ। अचानक आमाबुवाकै मृत्यु भएपछि उनीहरूका तीनछोरी सहराविहीन भएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिका–१ कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको यही भदौ ४ गते कुवेतमा मृत्यु भएको थियो।
उनी २०८० साल असारमा कुवेत पुगेका थिए। विषाक्त मदिरा सेवनका कारण उनको निधन भएको खबर पाएपछि विक्षिप्त भएकी ३३ वर्षीया श्रीमती विद्या मगरको यही भदौ ७ गते निधन भएको हो।श्रीमानको मृत्युको खबर सुनेपछि विछिप्त गएकी विद्या अचानक बेहोस भइन्। उपचारका लागि महालक्ष्मी नगरपालिकाकै जितपुर नगर अस्पताल पुर्याउँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।तीन दिनको अन्तरालमै श्रीमान् र श्रीमती दुवैलाई गुमाउँदा परिवार मात्र होइन, सिङ्गो गाउँ नै यतिबेला शोकमा डुबेको छ।मगर दम्पतीका तीन छोरीमध्ये जेठी १६ वर्षीय बिपना धनकुटा सदरमुकामस्थित तल्लो गोकुण्डेमा कक्षा १२ मा पढ्दै छिन्। माइली १५ वर्षीय सञ्जु सोही विद्यालयमा कक्षा ११ मा पढ्छिन्। कान्छी समिता केवल दुई वर्षकी मात्रै छिन्।
आमाको काजकिरिया सके पनि उनीहरूले अझै बुबाको शव पर्खिरहेका छन्। शव नेपाल ल्याउने तयारी भइरहेको नगरपालिकाका रोजगार संयोजक गौरव कार्कीले जानकारी दिए। शव आइपुगेपछि फेरि छोरीहरूले नै काजकिरियाको परम्परा पूरा गर्नुपर्नेछ।डम्बरबहादुरका बुबा हरिबहादुर सुस्लिङ मगरको पनि गत जेठमा निधन भएको थियो। एक वर्षमै एकै घरबाट तीन सदस्यको मृत्यु हुँदा गाउँ नै स्तब्ध बनेको छ।अब यी छोरीहरूको भविष्यप्रति अहिले छिमेकीदेखि आफन्तसम्म चिन्तामा छन्। आर्थिक अवस्था सामान्य रहेको परिवारमा आमाबाबु दुवै गुम्दा लालन पालन, शिक्षा र पालनपोषण कसरी गर्ने भन्ने विषयमा चिन्ता सुरु भएको हो। स्थानीय विमला थापाले सञ्जु मगरको नाममा बैङ्कमा खाता खोलेर सहयोग सङ्कलन अभियान सुरु गरिएको जानकारी दिइन्।
COMMENT
.