
काठमाडौं,। दैलेखबाट निमर्ला पन्तको जस्तो मुटु नै काप्ने बलात्कारको घटना बाहिरिएको छ । दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकामा १२ वर्षकी एक बालिकालाई दुई युवकले लखेटीलखेटी ढुंगाले हानेर बलात्कार गरेका छन् । घटना साउन २२ गते साँझको हो । तीजको नाच हेर्न गएकी बालिकालाई सोही नगरपालिका ८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीले लखेटी लखेटी बलात्कार गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारले एचटिसीलाई दिएको जानकारी अनुसार साउन २२ गते बिहीबारराति तीजको नाँच हेरेर एकै उमेरका ४, ५ जना किशोरीको समूह घर फर्किँदै थिए । त्यही समयमा गोविन्द र खगेन्द्रले उनीहरूलाई पिछा गरे । पिछा गरेको चाल पाएपछि किशोरीहरू भागे थिए। तर गोविन्द र खगेन्द्रले ती किशोरीलाई लखेट्न छाडेनन्। लखेटेरै उनीहरूले एक बालिकालाई समातेर पालैपालो बलात्कार गरेको प्रहरीले बताएको छ । ती बालिकाका साथीहरूले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। अरोपितहरुले बलात्कार गरेकी बालिकालाई ढुंगासमेत प्रहार गरेका छन्। घटनाको परिस्थीती हेर्दा उनीहरुले बालिकालाई बलात्कार गरि हत्या गर्ने प्रयास गरेको जस्तो देखिन्छ । सुनारका अनुसार भागेर ज्यान जोगाएका किशोरीहरूले तत्कालै घरमा घटनाको बारेमा जानकारी दिएपछि अभिभावकहरु घटनास्थल पुगेका थिए।
बालिकाका अभिभावक घटनास्थल पुगेको थाहा पाएपछि ती बालिकालाई बेहोस् अवस्थामा छाडेर उनीहरू भागेका प्रहरीले जनाएको छ। बालिकालाई घटना घटेकै दिन उपचारका लागि अस्पताल पुर्याइएको थियो। उपचारमा रहेका चिकित्सकका अनुसार बालिकाको दाहिने हात मर्केको छ भने गुप्ताङ्गमा घाउ छ। पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीलाई जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय दैलेख जनाएको छ।
COMMENT
.