• १० भदौ २०८२, मङ्गलवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

१८ साउन २०८२, शनिवार

लुम्बिनी,। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सकारात्मक धारणा निर्माणमा मिडियाले अगुवाको भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिएका थिए । 

“सामाजमा हरेक विषयमा नकारात्मक रूपमा अघि बढ्ने प्रवृत्ति छ । तर, हामीले सकारात्मक सन्देश दिनेगरी काम गर्न जरुरी छ”, मुख्यमन्त्री आचार्यले भने, “सुरुमा नकारात्मक कुरा दिमागमा बसिसकेपछि पछि जति सकारात्मक कुरा राखे पनि त्यसले असर गर्न सक्दैन । त्यसैले यो विषयमा संवेदनशील बन्न जरुरी छ ।”

लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा उनले जोड दिएका थिए । “मुलुक बनाउन बाहिरबाट कोही आउँदैन । हामी आफैँले बनाउनुपर्छ”, उनले भने । उनले मिडिया संस्थाको सङ्ख्या वृद्धि भएको सरकारले बजेटको आकार बढाउन भूमिका खेलिरहेको बताएका थिए । “प्रदेश सरकारको राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौँ । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्”, उनले भने ।

मुख्यमन्त्री आचार्यका अनुसार, प्रदेश सरकारद्वारा सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्व दिइएको र मिडियाको हकहितका लागि वकालत गरिरहेको उनले उल्लेख गरेका थिए । “प्रदेश सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ”, मुख्यमन्त्री आचार्यले भने, “संसद्को चालु अधिवेशनमा सदनमा प्रस्तुत हुन्छ । सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।”

कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताएका थिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराजप्रसाद पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

लुम्बिनी उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी रहेको बताउछन् । उनले तथ्य र प्रमाणमा आधारित पत्रकारिता आजको आवश्यकता रहेकामा जोड दिएका थिए । नेपाल उद्योग परिसङ्घ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने गरी काम गर्नुपर्ने बताउछन् ।नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोखरेलले ‘एकीकृत आवाज र आशावादी दृष्टिकोणसहित निजी क्षेत्रको समृद्धिका लागि सञ्चारको सहयोग अपरिहार्य’ रहेको बताएका थिए ।

नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायत उपस्थितले आ–आफ्नो धारणा राखेका थिए । राष्ट्रिय टेलिभिजन प्रसारक सङ्घ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीको नेतृत्वमा रहेको कार्यसमितिले नवनिर्वाचित गोपाल ज्ञवालीको अध्यक्षतामा रहेको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । रासस

COMMENT

.