• १६ साउन २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

१५ साउन २०८२, बुधवार

म्याग्दी,। म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताएका थिए। 

“बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरु साउन र भदौ महिनामा दैनिकजसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्”, उनले भने, “गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पु¥याउँछन् ।” दोवामा निहुरोबाट वार्षिक रु २५ देखि ३० लाख नगद  भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताएका थिए । दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताउछन् । “कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ”, उनले भने, “फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौँ ।” 

दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन् । बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौं पठाउने गरेको बताएका थिए । “बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु १०० देखि रु १२० सम्म पर्छ”,उनले भने, “गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको थियो । यसपालि गाउँबाट गत वर्षको तुलनामा आधा मात्रै निहुरोे आएको छ । माग धान्न सकिएको छैन ।” 

समुद्री सतहदेखि एक हजार ५०० देखि दुई हजार ५०० मिटर उचाइको ओसेपिलो ठाउँमा बर्खा याम निहुरो प्राकृतिक रुपमा उम्रन्छ । निहुरोको मुना छिप्पीएपछि सोत्तर हुन्छ । मुना अवस्थाको निहुरोलाई पकाएर तरकारी र अचारका रुपमा प्रयोग गर्न सकिन्छ । यो एक जैविक तरकारी समेत हो । निहुरो टुसा पलाएको चार÷पाँच दिनभित्र ठूलो झ्याङ भएको निउरो बन्छ । निहुरोमा एन्टीअक्सिडेन्ट पाइने भएकाले औषधीय र पोषणयुक्त तरकारीको रूपमा लिन थालिएको छ । बेनीका होटल व्यवसायी पूर्ण गौचनले पोषिलो, स्वादिलो र स्वस्थकर हुने भएकाले निहुरोको तरकारी र अचार पाहुनाले रुचाउने बताउछन् । स्वास्थ्यकर्मीहरुका अनुसार भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ पर्याप्त मात्रामा पाइने निहुरोमा आइरनको मात्रा पनि हुन्छ । आँखाको दृष्टि कमजोर भएकाहरूले पनि नियमित खाँदा लाभदायक हुन्छ । मुटु र मधुमेह रोगीहरूका लागि पनि निहुरो निकै उत्तम आहार मानिन्छ । यसको तरकारी खानाले क्यान्सरका बिरामी, भाइरल खोकी, चिसो लाग्दा र फोक्सोका बिरामीलाई फाइदा हुने उपभोक्ताको अनुभव छ । रासस

COMMENT

.