
काठमाडौं । सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन भएका छन्। गोलान्जोर गाउँपालिका ६ बागेश्वरका १६ जना तीनदिनदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। अहिले बेपत्ता भएका परिवारको घरमा प्रहरी पुगिसकेको छ।
‘परिवारका कसैको पनि मोबाइल सम्पर्कमा छैन। प्राविधिक रुपमा पनि लोकेसन हेर्ने काम भइरहेको छ। अरु हिसाबले पनि अनुसन्धान गरिरहेका छौँ। घरमा वस्तुभाउ सबै छन्। तर मान्छे छैनन्। गाउँलेहरूले बिहीबारपछि नदेखेको बताएका छन् । हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ लिएका थिए। यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। तर कहाँ गए भन्ने पत्ता लाग्न बाँकी रहेको एसपी सुवेदीले बताए। उक्त घर एकान्तमा छ। त्यहाँबाट अर्को कुनै घर पुग्न कम्तिमा १५ मिनेट लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए।
उनीहरूले एउटा भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए। हरेक दिन घाँस पानी गर्न जान्थे। तर, बिहीबारदेखि उनीहरू भैँसीलाई घाँस हाल्न नगएपछि गाउँले सोमबार बिहान घरै पुगेर हेर्दा ढोका खुलै थियो। तर, मान्छे कोही पनि थिएनन्। त्यसपछि खोजी सुरु भएको हो। बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ जना छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्।
COMMENT
.