
काठमाडौं । सुर्खेत प्रहरीले मिडिया हाउसको कार्यालयबाटै नक्कली नोट छाप्ने र लागुऔषधको कारोबार गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले भेरीगंगा नगरपालिका र बाँकेको कोहलपुरमा सञ्चालन भइरहेका गतिविधिमा शंका लागेपछि मंगलबार विशेष अपरेशनमार्फत पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका–७ समकोटका ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर विक र कालिकोटको नरहरीनाथ गाउँपालिका–४ घर भई बाँकेको कोहलपुर नगरपालिका–११, न्युरोडमा ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया हाउस सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।प्रहरीले उनीहरूको साथबाट करिब १३ लाख रुपैयाँ बराबरको नक्कली नोट, ३० किलोभन्दा बढी अफिमजस्तो देखिने पदार्थ, र नोट छपाइमा प्रयोग गरिने विभिन्न उपकरणहरू बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार कोहलपुरस्थित ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया हाउसको कार्यालयलाई नै प्रयोग गरी आपराधिक गतिविधि सञ्चालित गरिएको थियो। कार्यालयभित्रै नक्कली नोट उत्पादनका लागि आवश्यक उपकरण र कच्चा मालहरू राखिएको फेला परेको हो।प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पक्राउ परेकी दिलमाया सिंह आफ्ना बालबालिकासहित वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएकी थिइन्। उनले आफ्ना छोराछोरीलाई पढाउन भन्दै सुर्खेत झरेकी थिइन्। तर अनुसन्धानबाट खुलेको तथ्यअनुसार, उनलाई आफ्नै दाजु नाता पर्ने रामबहादुर सिंहले योजनाबद्ध रूपमा यो आपराधिक गिरोहमा संलग्न गराएको देखिएको छ।
पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले बजारमा केही नक्कली नोट प्रवाह गरिसकेको शंका गरिएको छ। बरामद भएको पदार्थ अफिम हो वा होइन भन्ने विषयमा परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार घटनासँग जोडिएको सञ्जाल अझै फराकिलो हुनसक्ने सम्भावना रहेकाले थप व्यक्ति पक्राउ पर्ने अनुमान गरिएको छ।
COMMENT
.