• १९ भदौ २०८२, बिहिवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

पाँच करोडको लगानीमा बन्धातालमा पूर्वाधार निर्माण गरिँदै

३१ असार २०८२, मङ्गलवार

दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित पर्यटकीय गन्तव्य बन्धातालको पर्यटन विकासका लागि पूर्वाधार निर्माण सुरु गरिएको छ ।

सरकारले २०७५ सालमा घोषणा गरेका सय वटा नयाँ पर्यटकीय गन्तव्यमध्येको बन्धातालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सङ्घ सरकारको रु पाँच करोड ४३ लाख लागतमा निर्माणकार्य भइरहेको छ ।  ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुरुप गत जेठमा ठेक्का सम्झौता भएर काम भइरहेको बेलौरी नगरपालिकाका इञ्जिनियर जगदीश जोशीले जानकारी दिएका थिए । 

“हाम्रो अवधारणा बीचमा मन्दिर बनाउने र मन्दिरसम्म जानका लागि पुल निर्माण गर्ने हो, छेउछाउमा पनि ट्रस्ट पुल बनाउने योजना हो”, जोशीले भने, “यो योजनाअनुसार तालमा पूर्वाधार निर्माण गर्न रु २७ करोड लागत अनुमान गरिएको छ ।” उनले पहिलो चरणमा तालको चारैतिर पर्खाल निर्माण गरेर संरक्षण गरिने र पर्यटकको सहजताका लागि विभिन्न संरचना निर्माण हुने बताएका थिए । 

सत्ताइस बिघा क्षेत्रफलमा फैलिएको यो तालको संरक्षण र पर्यटकीय विकासका लागि पालिकाले पनि नगर गौरवको योजनामा समेटेर बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्न खोजेको बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले बताउछन् । “तालको विकासका लागि थप बजेटका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरिरहेका छौँ”, उनले भने, “नगरपालिकाको बजेटबाट पनि पर्यटकीय विकासका लागि पूर्वाधार निर्माण भइरहेका छन् ।” ताल परिसरमा पूर्वाधार निमार्णका लागि दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन् । गत जेठ ९ गतेको ठेक्का सम्झौताअनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । स्थानीयका अनुसार गोलो घेरामा फैलिएको भएकाले तालको नाम बन्धाताल रहन गएको हो । उक्त तालमा विभिन्न प्रजातिका माछा, जलपन्छी र चराचुरुङ्गीको समेत अवलोकन गर्न सकिन्छ । रासस

COMMENT

.