• १५ असार २०८२, आइतवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

‘वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाऔँ’

१५ असार २०८२, आइतवार

काठमाडौं, १५ असार – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन, सर्पदंशका घटनाबाट आमनागरिकको जीवन जोगाउन तथा भौतिक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) की इन्दिरादेवी गौतमले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए । “वैदेशिक रोजगारीका क्रममा दुर्घटना हुँदा उपचार र क्षतिपूर्ति नपाउने, शव ल्याउन हुने ढिलाइले  पीडितका परिवारले थप पीडा व्यहोरिरहेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षामा लाग्न सरकारको ध्यान जाओस्”, उनले भने। 

सोही पार्टीकी तुलसाकुमारी दाहालले तराई क्षेत्रमा सर्पदंशका घटना वृद्धि भइरहकाले आमनागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै पीडितलाई उपचारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले छिन्चु–जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत विभिन्न खोला तथा नदीमा पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुमित्रा विसीले माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजामा भएको सुधारको सराहना गर्दै शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।

 बजेटआश्रित दुई विधेयक टेबुल

बैठकमा बजेट आश्रित दुई विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी दिँदै ती विधेयक टेबुल गरेका थिए । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सभाका विषयगत समितिमा रहेका सांसदको नाम हेरफेरबारे जानकारी दिएका थिए । सांसद नारायणकाजी श्रेष्ठलाई विधान व्यवस्थापन समितिबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिमा र  झक्कुप्रसाद सुवेदीलाई विकास समितिबाट विधायन व्यवस्थापन समितिमा समावेश गरिएको । उक्त हेरफेरप्रति बैठकले सहमति जनाएको छ । रासस

COMMENT

.